वीर अस्पतालमा बन्ने सर्जिकल भवनको प्रमद्वारा शिलान्यास
काठमाडौंको वीर अस्पतालमा गुरुयोजनाअन्तर्गत नयाँ सर्जिकल भवन निर्माण हुने भएको छ । उक्त भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।
नौ तलाको अत्याधुनिक उक्त भवनभित्र १५ वटा शल्यक्रिया कक्ष (अपरेशन थिएटर) रहने छन् । यसैगरी पोष्ट अपरेटिभ कक्ष, ४० शय्याको अति सघन कक्ष र पुस्तकालय रहने छन् । साथै ज्येष्ठ नागरिक, अपांग अनुकुल बिरामी कुरुवा भवन समेत रहनेछ ।
नेपाल सरकारको रु तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
वीर अस्पताल १५ सय श्ययामा विस्तार हुँदै
विसं १९४७ मा १५ शय्याबाट सेवा दिन शुरु गरेको वीर अस्पतालले आफ्नो क्षमता एक हजार ५०० शय्यामा विस्तार गर्दै छ । कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का उपकुलपति प्राडा गणेशमान गुरुङले ४५० शय्याको वीर अस्पतालको क्षमता विस्तार भई एक हजार ५०० शैया पुर्याउन लागेको जानकारी दिए ।
योजनाका अनुसार छिट्टै ६५० श्ययाको मेडिकल भवन निर्माण कार्य शुरु हुने तथा एक सय शय्याको विशिष्ट प्रकारको विशेषज्ञ मेडिकल भवन जापान सरकारको आर्थिक सहयोगमा शुरु भइसकेको छ ।
वीर अस्पतालले नेपालमै पहिलोपटक क्यान्सर रोगका लागि टेमोथेरापी उपकरण उपचार विधिमा ल्याउन लागेको सो अवसरमा जानकारी दिइयो । यसका लागि अस्पतालले रु ४० करोडमा उपकरण समेत खरिद गरिसकको छ ।
चिकित्सा सेवामा गम्भीर बन्नुहोस्: प्रम ओली
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा शुरु भएको दाबी गरे ।
उनले भने, “मैले सुनेको छु, एउटा पुलको ११ पटक शिलान्यास भयो, अब यस्तो दिन समाप्त भयो, समयसीमाभित्र हरेक योजना तथा काम सम्पन्न गर्नैपर्छ, सीमाभित्र काम सम्पन्न नगर्नेमाथि कारबाही हुन्छ, अनुगमनमाथि अनुगमन हुन्छ ।”
विसं २०७७ भित्र सर्जिकल भवन निर्माण सम्पन्न हुनैपर्नेमा जोड दिँदै उनले समयभित्र भवन निर्माण सम्पन्न गराउन आफूले नयाँ परम्परा बसाल्ने समेत बताए ।
सरकारी अस्पताल भन्दा निजी राम्रो होइन
सरकारी अस्पतालले भन्दा निजी अस्पतालले दिने सेवा राम्रो हुन्छ भन्ने आम जनमानसमा रहेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा गम्भीर भएर सेवा दिन चिकित्सकलाई आग्रह समेत गरे ।
“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने, एउटा खुट्टा बिरामी छ अर्काको उपचार गर्ने ? यो तहको चिकित्सा सेवाले कहाँ पुर्याउँछ ? यस प्रकारको हेलचक्रा्याईं दोहोरिन भएन, चिकित्सक र सिंगो चिकित्सा क्षेत्र गम्भीर बन्नुपर्यो ।”
प्रधानमन्त्री ओलीले आफूले प्राविधिक शिक्षाको विकास र विस्तारमा पहिलो प्राथमिकता दिने जानकारी दिँदै आम जनताको स्वास्थ्यस्थितिमा सुधार ल्याउन गुणात्मक फड्को मारिने उल्लेख गरे।