दुर्गमका पाँच महिला सम्मानित
ग्रामिण पहुँच कार्यक्रम (र्याप) ले महिला दिवसका अवसरमा कर्णाली क्षेत्रका पाँच महिलालाई सम्मान गरेको छ ।
दैलेखकी पुष्पा हमाल र धन बीसी, कालिकोटकी सत्यदेवी शाही र बाजुराकी देवसरा देवी बुढा र मातादेवी साउदलाई ललितपुरस्थित र्याप कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) को सहयोग र स्थानीय विकास मन्त्रालयको संयोजनमा सञ्चालित कार्यक्रम र्यापले अत्यन्त दुर्गम क्षेत्रमा स्थानीय सहभागितामा सडक निर्माण गरी गरिबी न्यूनिकरणका लागि काम गर्दै आएको छ । करिब १० वर्षको अवधिमा र्यापले विभिन्न जिल्लामा एक हजार किलोमिटर सडक निर्माण गरिसकेको छ भने दुई हजार किलोमिटर सडक मर्मत सम्भारको काम गरिरहेको छ ।
सम्मानित महिलाहरु र्यापको कार्यक्रम सञ्चालन भएका क्षेत्रमा योगदान दिएका महिलाहरु हुन् ।
दैलेखमा र्याप अन्तर्गतको सडक मर्मत समूहकी सदस्य पुष्पा हमालले श्रमिक महिलाहरुलाई पुरुष सरह ज्याला दिलाउनका लागि पैरवी गरेकी थिइन् । उनको संघर्ष र पैरवीकै कारण समूहका महिला सदस्यहरुले पुरुष सरह ज्याला पाइरहेको र्यापले जनाएको छ । त्यसकै परिणामस्वरुप अन्य काममा पनि महिलाहरुले पुरुष सरह नै ज्याला पाउनु पर्ने माग बढेको छ ।
बाजुराकी देवसरादेवी बुढा स्थानीय सडक निर्माण संयोजन समितिकी सदस्य हुन् । महिला अधिकार मञ्च मार्फत जिल्लामा छाउपडी प्रथा हटाउन संघर्षरत देवसराकै नेतृत्वमा २० वटा छाउघर भत्काइएका छन् । बालविवाह, मादक पदार्थ सेवन जस्ता व्यवहार विरुद्ध सचेतना फैलाइरहेकी उनी बाजुरामा सरसफाई, शिक्षा जस्ता क्षेत्रमा सक्रिय छिन् ।
कालिकोटकी सत्यदेवी शाही पनि महिला हिंसा, छाउपडी जस्ता कुरितिका विरुद्ध पैरवी गरिरहेकी महिला हुन् । महिलाहरुमा आर्यआर्जन र वचतको बानी विकासका लागि कार्यरत उनी सडक नाटक र अन्य अभियानमा पनि सक्रिय छन् ।
दैलेखकी धन बीसी घरघरमा दैनिक उपभोगका सामाग्री बेचेर आफ्नो र सन्तानको शिक्षा अघि बढाइरहेकी छन् । नारायण क्याम्पसमा स्नातक अध्ययनरत एकल महिला बीसी दृढ इच्छाशक्ति भएमा चरम अभावका बीच पनि शिक्षालाई अगाडि बढाउन सकिन्छ उदाहरण बनेकी छन् ।
बाजुराकी मातादेवी साउद स्थानीय सडक निर्माण समूहकी सहजकर्ता र कोषाध्यक्ष हुन् । त्रिवेणी नगरपालिकाकी वडा सदस्य समेत रहेकी उनी आमा समूहकी सदस्य, ग्रामिण स्वास्थ्य स्वयंसेविका समेत रहिसकेकी छन् । चार सन्तानकी आमा साउदका श्रीमान भारतमा मजदुरी गर्छन भने उनी एक्लैले सन्तानको शिक्षादीक्षा साथै सामाजिक काममा पनि सक्रिय छन् ।