आर्थिक वृद्धिको लक्ष्य घटेर ६ प्रतिशत, बजेटको आकार पनि घट्यो
सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य संशोधन गर्दै ६ प्रतिशत रहने घोषणा गरेको छ ।
चालु आवको बजेटले ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो ।
अर्थ मन्त्रालयले आज बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै आर्थिक वृद्धिको लक्ष्य संशोधन गरेको हो ।
त्यस्तै, मूल्यवृद्धि बजेटमा पनि अनुमान गरिएभन्दा कम हुने अर्थ मन्त्रालयले जनाएको छ ।
बजेटमा ७ प्रतिशत मूल्यवृद्धि हुने अनुमान गरिएपनि यो ६ प्रतिशतमा मात्रै सीमित हुने मन्त्रालयको अनुमान छ ।
सरकारले चालु आवमा ल्याएको रु. १२ खर्ब ७९ अर्बको बजेटमध्ये रु. १ खर्ब ५० अर्बको स्रोत जुटाउन नसक्ने अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।
गत आर्थिक वर्षको बजेटबाट रु. १ खर्ब २ अर्ब बजेट वचत हुने अनुमानका आधारमा यो वर्षको बजेट बनाएपनि गत वर्षको बजेट रु. ४८ अर्बले घाटामा रहेको देखिएपछि बजेटमा घोषणा गरिएकै कार्यक्रमहरुका लागि रकम अपुग हुने भएको हो ।
अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत यो वर्ष रु. ११ खर्ब २९ अर्ब मात्र रकम खर्च गर्न सकिने उल्लेख गरेको छ ।