प्रदेश–७ मा अल्पकालीन बजेट ल्याउने तयारी
चालू आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहेको बेला प्रदेश–७ को सरकारले अल्पकालीन बजेट ल्याउने तयारी गरेको छ ।
बजेटले कृषि र उत्पादनशील क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।
सरकार गठन भएपछि सञ्चित कोषको अभावले मन्त्रालयका काम कारबाही प्रभावित हुन थालेको महशुस गरी अल्पकालीन बजेट ल्याउन लागिएको जनाइएको छ ।
रु एक अर्ब २० करोड ५० लाख बराबरको बजेट निर्माणका विषयमा कर्मचारीहरुलाई आर्थिक मामिला मन्त्रालयले आवश्यक निर्देशनसमेत दिइसकेको छ ।
अल्पकालीन बजेटमा तत्काल सम्बोधन हुने नीति तथा कार्यक्रम समावेश गरिने आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले जानकारी दिए ।
कमजोर वित्तीय अनुशासन, राजश्व चुहावट, करको साँघुरो दायरा, आम्दानीभन्दा बढी खर्चका कारण प्रदेशको आर्थिक व्यवस्थापन चुनौतीपूर्ण रहेको अवस्थामा पहिलो पटक ल्याउन लागिएको बजेटले आगामी आवमा ल्याइने पूर्ण बजेटलाई निर्दिष्ट गर्ने अर्थमन्त्रीले बताए । रासस