स्वास्थ्य मन्त्रालयको निर्देशनपछि काउन्सिलको बैठक बस्दै
स्वास्थ्य मन्त्रालयले ६ महिनादेखि अवरुद्ध नेपाल मेडिकल काउन्सिलको बैठक बस्न निर्देशन दिएको छ ।
मन्त्रालयको चिकित्सा महाशाखाले १७ असोजमा पत्राचार गरेर काउन्सिलको काम–कारवाही अघि बढाउन आवश्यक बैठक बस्न निर्देशन दिएको हो ।
हिमालमा काउन्सिलमा ‘अख्तियारको त्रास’ शिर्षकको समाचार प्रकाशित भएपछि स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतिले काउन्सिल अध्यक्ष डा. धर्मकान्त बास्कोटालाई फोन गरेर आफुहरुले काउन्सिलको बैठक रोक्न नखोजेको बताएका थिए ।
काउन्सिलका रजिष्टार डा. दीलिप शर्माले मन्त्रालयको निर्देशनपछि काउन्सिलको ६ महिनादेखि अवरुद्ध पूर्ण बैठक बसाल्ने तयारी भइरहेको बताए ।
डा. शर्माले भने, “मन्त्रालयले पदाधिकारी नियुक्तिका बारेमा मन्त्रिपरिषद्मा पेश गरेको मापदण्ड लागु नहुञ्जेलसम्म पहिलैकै पदाधिकारीबाट काउन्सिलको बैठक बसाल्न निर्देशन आएको छ ।”
स्वास्थ्य मन्त्रालय अन्तर्गतका आठवटा निकायमा पदाधिकारीको नियुक्ति मापदण्ड विपरित भएको भन्दै १५ वैशाख २०७३ मा अख्तियार
दुरुपयोग अनुसन्धान आयोगले मापदण्ड बनाएर मात्र पदाधिकारी नियुक्त गर्न सरकारलाई पत्राचार गरेको थियो । उक्त निर्देशनपछि काउन्सिलले मन्त्रालयको निर्देशन बैठक बसाल्न सकेको थिएन ।
काउन्सिल रजिष्टार डा. शर्माका अनुसार काउन्सिलको पहिलो बैठक मेडिकल कलेजको सिटको निर्धारणका बारेमा केन्द्रित हुनेछ ।
काउन्सिल अध्यक्ष डा. धर्मकान्त बास्कोटा मुलुक बाहिर भएकाले उनी आए लगत्तै पहिलो बैठक बसालेर सिट निर्धारणको विषय टुङ्गो लगाइने डा. शर्माले बताए ।
काउन्सिलको बैठक बस्न नसक्दा चिकित्साशास्त्र अध्ययन संस्थानको विद्या परिषद् (फ्याकल्टी बोर्ड) ले २७ भदौमा आफू मातहतका १० मेडिकल कलेजको एमबीबीएस तथा बीडीएस तहको सीट निर्धारण गरेको थियो ।