अमेरिका पुर्याइएका ८ सय वर्ष पुराना मूर्ति फिर्ता ल्याइँदै
अवैधानिक माध्यमबाट अमेरिका पुर्याइएका करीब ८०० वर्ष पुराना मूर्ति नेपाल ल्याइने भएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई थान मूर्ति उक्त संग्रहालयले नेपाललाई हस्तान्तरण गर्न तत्परता देखाएको हो ।
मूर्ति फिर्ता सम्बन्धी सम्झौतामा सोमबार संग्रहालयका तर्फबाट अध्यक्ष डानियल एच विस र नेपालका तर्फबाट न्यूयोर्कस्थित महावाणिज्यदूत मधुकुमार मरासिनीले हस्ताक्षर गरेका छन् ।
८०० वर्ष पुराना दुईवटा मूर्ति सन् १९८० को दशकमा नेपालबाट चोरी भएर अमेरिका पुर्याइएको थियो । चोरी भएका मूर्तिमा पाटनमा रहेको उमामहेश्वर र बुद्धको मूर्ति छन् । ती दुवै मूर्ति बाह्रौँ र तेह्रौँ शताब्दीमा निर्माण गरिएको बताइएको छ ।
संग्रहालयले चोरीको मूर्ति प्रदर्शनीमा राख्ने आफ्नो नीति नभएकाले हस्तान्तरणको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
सोमबार मूर्ति फिर्ता गर्न आयोजित हस्ताक्षर कार्यक्रममा अध्यक्ष विसले संग्रहालयमा अवैधानिक तरिकाले प्राप्त मूर्ति नरहुन् भन्ने अभिप्रायले मूर्ति फिर्ता गर्न लागिएको जानकारी दिए ।
महावाणिज्यदूत मरासिनीले पुरातात्विक महत्वका मूर्ति फिर्ता गराउन पहल गरेकामा संग्रहालयलाई धन्यवाद दिँदै यसले अवैधानिक तरिकाले मूर्तिको व्यापार गर्नेलाई निरुत्साहित गर्ने बताए ।
ती मूर्ति भन्सार मापदण्डको प्रक्रिया पूरा गरी अप्रिलभित्र नेपाल ल्याइने योजना रहेको न्यूयोर्कस्थित कन्सुलर जनरलको कार्यालयले जनाएको छ । रासस