अन्तरिम कार्यविधि पारित गर्दै दुवै सदनको बैठक सम्पन्न
संघीय संसद्का दुवै सदनको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गरेको छ ।
नयाँबानेश्वरस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकले अन्तरिम कार्यविधि पारित गरेको हो ।
राष्ट्रिय सभामा ज्येष्ठ सदस्य तारादेवी भट्टले अध्यक्षता गरेकी थिइन् ।
त्यस्तै प्रतिनिधिसभामा पनि ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको भुमिका निर्वाह गरेका थिए ।
प्रतिनिधिसभाको बैठकले सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्न पाँच सांसद्को नाम पनि पारित गरेको छ । जसमा एमालेका खगराज अधिकारी, कांग्रेसका मानबहादुर विक, माओवादीकी पूर्णाकुमारी सुवेदी, राजपाका लक्ष्मणलाल कर्ण र फोरमका उमाशंकर अर्गरिया छन् ।
राष्ट्रिय सभामा पनि अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न पर्शुराम मेघी गुरुङ, राधेश्याम अधिकारी र कालीबहादुर मल्ललाई चयन गरिएको छ ।
तल्लो र माथिल्लो दुवै सदनको अर्को बैठक भोलि, मंगलबार बिहान ११ बजे बस्नेछ ।