संघीय संसद्को पहिलो बैठक आज बस्दै
प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक आज बस्ने भएको छ ।
संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक एकै समय दिउँसो ४ बजे शुरु हुनेछ ।
प्रतिनिधिसभाको १० र २१ मंसिर तथा राष्ट्रियसभा सदस्य निर्वाचन २४ माघमा भएको थियो ।
नेपालको संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक व्यवस्था गरेको छ ।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित ११० जना गरी २७५ जना सदस्य छन् ।
त्यस्तै, राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना निर्वाचित सदस्य छन् ।
राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत तीनजना गरी ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था छ ।