काँग्रेस संसदीय दलमा देउवा र सिंह भिड्दै, कसले मार्ला बाजी?
संघीय संसद्को दोस्रो ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् । उनीहरुले २० फागुन साँझ उम्मेदवारी दर्ता गरेका हुन ।
पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाको प्रस्तावक विजयकुमार गच्छदार र मानबहादुर विक समर्थक रहेका छन् । सिंहले सीतादेवी यादवलाई प्रस्तावक र सञ्जयकुमार गौतमलाई समर्थक राखेका छन् ।
देउवा र सिंह दुबैले आफूले जित्ने दाबी गरिरहेका छन् । तर सिंहको भन्दा देउवाको पल्ला भारी भएको काँग्रेस सांसदहरु बताउँछन् ।
नेता चयनका लागि प्रत्यक्षतर्फबाट निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ सांसदले मतदान गर्दैछन् । मतदानका लागि २१ फागुन बिहान १० देखि दिनको १ बजेसम्मको समयत तोकिएको छ ।
संसदीय दलको नेता चयनका लागि १३ फागुनमा चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्दम्बे र नवीन्द्रराज जोशी सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो ।