राष्ट्रियसभामा मनोनित सांसद् नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाई स्थगित
राष्ट्रियसभामा मनोनित तीन सदस्यको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाई स्थगित भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशमानसिंह राउतले आफ्नो इजलासमा परेको यो मुद्दा ‘हेर्न नमिल्ने’ भनेपछि २० फागुनमा सुनुवाई रोकिएको हो । सुनुवाई स्थगित भएपछि मनोनित तीनै सदस्यको आज शपथ नहुने भएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस गरेको थियो । तर केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि सरकारले युवराज खतिवडा, विमला राई पौडेल र रामनारायण विडारीलाई सिफारिस गर्यो । पछिल्लो सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयबाट खतिवडा, पौडेल र विडारी राष्ट्रियसभा सदस्यमा नियुक्त भईसकेका छन् ।
देउवा सरकारको सिफारिसमा परेका बस्नेत, पौडेल र जोशीले संयुक्तरुपमा ‘असंवैधानिक रुपमा आफूहरुलाई मनोनीत नगरिएको’ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
निवेदकका पक्षबाट बहस गरेका अधिवक्ता बाबुराजा जोशीले न्यायाधीशद्वय राउत र कार्कीले मुद्दा हेर्न नमिल्ने बताएका थिए । न्यायाधीश राउतले १३ फागुनमा यही मुद्दाको विषयमा अन्तरकालीन अन्तरिम आदेश दिएको र अर्का न्यायाधीश कार्की केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्तामा नियुत्तः भएकाले मुद्दा हेर्न नमिल्ने बताएका हुन् ।