प्रधानमन्त्रीले २७ फागुनमा विश्वासको मत लिने
प्रधानमन्त्री केपी शर्मा ओलीले २७ फागुनमा प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको आजको बैठकमा सो मितिमा सहमति भएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए । प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान संविधानको धारा ७६ मा व्यवस्था छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष तथा प्रतिनिधिसमाभा नवनिर्वाचित सदस्य ओलीलाई यही ३ फागुनमा प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन ।
बैठकले दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचनको तालिकासमेत स्वीकृत गरेको प्रवक्ता डा गौतमले बताउनुभयो । निर्वाचन तालिकानुसार सभामुखको निर्वाचन २६ फागुनमा, राष्ट्रियसभाका अध्यक्षको निर्वाचन ३० फागुनमा, उपसभामुखको निर्वाचन आगामी २ चैत र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन ४ चैतका लागि निर्धारण भएको छ ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बैठकमा संघीय संसद् सञ्चालनका लागि तत्काल आवश्यक पर्ने अन्तरिम कार्यविधिलाई सामान्य संशोधनसहित २१ फागुनको पहिलो बैठकमा प्रस्तुत गरिने र सोमबार नै पारित गरिने सहमति भएको उनले बताए । रासस