विदेशबाट आएको दुई घण्टामै श्रीमतीको हत्या प्रयास, आफैं आत्महत्या
विदेशबाट घर आइपुगेको दुई घण्टामै अर्घाखाँचीको नुवाकोट गाविसमा आफ्नै श्रीमती लाइ हत्या गर्ने प्रयास पछि श्रीमान आफैले आत्महत्या गरेका छन ।
जिल्लाको नुवाकोट–२ करौदीका टेकबहादुर केसी कतारमा १० महीना विताएर घर फर्केका थिए । घर आइपुगे लगत्तै उनले श्रीमती २४ वर्षीया सिर्जना केसी लाइ धारिलो हतियार प्रयोग गरी हत्याको प्रयास गरेका हुन् । त्यसपछि उनले घर नजिकै रहेको काभ्राको बोटमा झुण्डियर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताए ।
श्रीमती सिर्जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचार भैरहेको छ ।
सिर्जनाको स्थिति खतरामुक्त रहेको अस्पतालले जानकारी गराएको छ ।
केसी दम्पतीकी तीन वर्षीया छोरी छन् ।
टेकबहादुर घर फर्किंदा घरमा आफू र वृद्ध ससुरा मात्रै रहेको र टेक बहादुरले उनीहरुलाई कोठामा लगेर हत्या प्रयास गरेको सिर्जनाले अस्पताल बेड बाटै बताइन् ।
पहिला टेक बहादुरले बाबुलाई घाटी थिची मार्ने प्रयास गरेका थिए तर उनका बाबु भाग्न सफल भए ।
त्यसपछि उनले श्रीमती लाई काठ ताछ्ने बसुलाले हानेका थिए । सिर्जनाले ओछ्यानबाटै भनिन् रोक्न सकें र बाँचे ।
घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रेम आचार्य