‘मदन पुरस्कार’ र ‘जगदम्बाश्री पुरस्कार’ वितरण
मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार वितरण गरेको छ ।
गुठीले आज ललितपुरमा आयोजित कार्यक्रममा यस वर्षको मदन पुरस्कारद्वारा सम्मानित रामलाल जोशी र जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित लीलबहादुर क्षेत्रीलाई पुरस्कार वितरण गरेको हो । जोशीले ‘ऐना’ कृतिका लागि यस वर्षको मदन पुरस्कार पाएका हुन् ।
मदन पुरस्कारबाट सम्मानित स्रष्टा जोशीले आफूले साना तर संवेदनशील विषय उठान गर्दा यो पुरस्कार पाएको बताए । “ठूलो कुरा मैले आजको सामाजिक गतिले अँध्यारोमा नै छाड्न खोजेको विषयको उठान ‘ऐना’मा गरेको छु, ” उनले भने । आफूले पुरस्कार पाउँदा सुदूरपश्चिमले पुरस्कार पाएको अनुभव भएको उनको भनाई थियो ।
जगदम्बाश्री पुरस्कारबाट सम्मानित भारतको आसाम निवासी साहित्यकार क्षेत्रीले आफूले यो पुरस्कार नेपाली भाषा साहित्यमा समर्पित स्रष्टालाई दिएको सम्झेको बताए । नेपाली भाषा र साहित्य संस्कृतिले छरपष्ट नेपाली जातिलाई एकताको सूत्रमा बाँधेको उनले बताए । “विभिन्न समयमा लेखिएका नेपाली साहित्यको सूक्ष्म अध्ययनको पनि खाँचो छ, ” उनले भने ।
पुरस्कारका बारेमा बोल्दै स्रष्टा प्रकाश सायमीले कुनै पनि स्रष्टाले पुरस्कार पाउँदा उसले त्यो समयका समकालीन स्रष्टाको प्रतिनिधित्व गर्ने बताए ।
गुठीका अध्यक्ष कमलमणि दीक्षितले जोशीको ‘ऐना’ले मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार क्षेत्रीले पाएकोमा पनि आफू हर्षित भएको बताए । “आज यो ऐतिहासिक स्थानमा सम्मान गर्न पाउनु आफैँमा गर्व गर्ने विषय हो,” उनले भने ।
मदन पुरस्कार र जगदम्बाश्री दुवै पुरस्कारको राशि रु दुई/दुई लाख रहेको छ ।