समाचारमंगलबार, १५ फाल्गुण , २०७४

म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग

हिमालखबर

जिल्ला समन्वय समितिले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग गरेको छ ।

समितिको १४ फागुनमा बसेको बैठकले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न प्रदेश र संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको हो ।

दर्जन संख्यामा हिमाल रहेको र भौगोलिक विकटतालाई आधार मानेर म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न माग गरिएको समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिए ।

हिमाल नजिकका बस्ती समेत पहाडी भेगमा सूचीकृत हुँदा राज्यले हिमाली भेगका अन्य जिल्लाका बासिन्दालाई दिने सेवा सुविधाबाट म्याग्दीका दुर्गम बस्तीका बासिन्दा वञ्चित भएका छन् ।

धौलागिरि गाउँपालिकाको मुदी, गुर्जा, मल्कवाङ, रघुगंगाको कुइनेमंगले, चिमखोला, अन्नपूर्णको नारच्याङ र शिखको भूभाग हिमालसँग जोडिएको छ ।

संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि प्रथमदेखि छैटौँसम्मका चुचुरासँगै मानापाथी, गुर्जा, चुरेन, पुथा, अन्नपूर्ण प्रथम, बराह शिखर, निलगिरि हिमालको दक्षिण र पूर्वी मोहडा म्याग्दीमै पर्छन् ।

म्याग्दीको करिब आधा भू–भाग नै हिमाली क्षेत्रमा पर्ने हुँदा हिमाली जिल्लामा सूचीकृत गराउन पहल गरिएको प्रमुख केसीले बताए ।

हिमाली भूगोल भएको म्याग्दी पहाडी जिल्लामा पारिएका कारण बजेट विनियोजनदेखि पर्यटन प्रवद्र्धनमा समेत प्रत्यक्ष असर परेको जिल्ला समन्वय समितिले ठहर गरेको छ । रासस

प्रतिकृया दिनुहोस