देउवा सरकारले राष्ट्रियसभामा सिफारिश गरेका तीनजनाद्वारा सर्वोच्चमा रिट दायर
शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभा सदस्यका लागि सिफारिश गरेका तीन व्यक्तिले सर्वोच्चमा रिट दायर गरेका छन् ।
असंवैधानिक रुपमा आफूहरुलाई राष्ट्रियसभामा मनोनीत नगरिएको भन्दै आज गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले संयुक्त रुपमा निवेदन दायर गरेका हुन् ।
बस्नेत, पौडेल र जोशीको रिटमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।
रिटमा आफूहरुलाई राष्ट्रिय सभामा मनोनीत नगर्नु असंवैधानिक कदम भन्दै देउवा सरकारको निर्णय कार्यान्वयन गर्न माग गरिएको छ ।
निवेदनमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म नयाँ सदस्यलाई शपथ नगराउन विपक्षीका नाममा अन्तरिम आदेश पनि माग गरिएको छ ।
वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेल राईलाई सिफारिश गरेको थियो ।
तीनैजना राष्ट्रियसभामा मनोनीत भइसकेका छन् ।