सिमेन्ट उद्योगको मापदण्ड निर्धारण गर्न समिति गठन
उद्योग मन्त्रालयले सिमेन्ट उद्योगको मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ ।
सञ्चालनमा रहेका तथा नयाँ उद्योगबाट हुनसक्ने सम्भावित प्रदूषण न्यूनीकरण तथा रोकथामका लागि समिति गठन गरिएको हो ।
उद्योग मन्त्रालय प्रविधि महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको छ ।
समितिको सदस्यमा खानी तथा भूगर्भ विभागका उपसचिव, वातावरण विभागका उपसचिव, गुणस्तर तथा नापतौल विभागका उपसचिव, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, नेपाल उद्योग परिसंघका प्रतिनिधि, नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधि र सदस्य सचिवमा प्रविधि तथा वातावरण शाखाका निर्देशक रहनेछन् ।
उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले सिमेन्ट उद्योगले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई दृष्टिगत गरेर समिति गठन गरिएको जानकारी दिए ।
समितिले दुई महीनाभित्र सिमेन्ट उद्योग सम्बन्धी मापदण्ड तयार गरेर प्रतिवेदन बुझाउने छ । रासस