मन्त्री नै भन्छन् ‘सरकारी बिदा धेरै भयो’
नवनियुक्त जनसङ्ख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेपालमा सरकारी बिदा धेरै भएको बताएका छन् ।
मन्त्री पण्डितले आवश्यकताभन्दा धेरै बिदा हुँदा मुलुकको कार्यक्षमतामा नै ह्रास आएको बताएका हुन् ।
आज बिहान हिमाल खबरसँग कुरा गर्दै पण्डितले भने– “सरकारी बिदाले गर्दा नेपाल काम गर्नेभन्दा आराम गर्ने मुलुकका रूपमा चिनिन थालेको छ ।”
उनले भने– “आज म मन्त्री नियुक्त भएको आठ दिन भएको छ । तर, योबीचमा तीन दिन सरकारी बिदा पर्यो ।”
बिदाले गर्दा अन्य मन्त्रालय र विभागहरूसँग समन्वय गर्न नपाएको पण्डितले गुनासो गरे ।
नेपालीहरूसँग बिदा लिएर बस्ने समय नभएको भन्दै मन्त्री पण्डितले विश्वबजारसँग प्रतिस्पर्धा गर्न कमभन्दा कम बिदा दिएर सरकारी र निजी दुबै क्षेत्रले कार्यक्षमता बढाउनुपर्ने बताएका छन् ।
बिदा धेरै दिएर देश बन्न नसक्ने बताउँदै मन्त्री पण्डितले समग्र मुलुकको कार्यक्षमता बढाउन सरकारी बिदा कटौती गर्नुपर्ने धारणा समेत राखेका छन् ।
मन्त्री पण्डितसँगको विस्तृत अन्तर्वार्ता हिमाल खबरमा छिट्टै प्रकाशित हुँदैछ ।