को–को आउलान् एकीकृत पार्टीको स्थायी समितिमा
७ फागुन राति नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरणको लागि सात बुँदे सहमति भएसँगै एकीकृत पार्टी संरचना कस्तो बन्ला भन्ने आम चासोको विषय बनेको छ ।
एकीकृत पार्टी संरचनाको खाकाले अन्तिम रूप नलिएका कारण केपी शर्मा ओली नेतृत्वको सरकार विस्तारमा समेत ढिलाइ भइरहेको छ । एकीकृत पार्टीको संरचना कस्तो बनाउने भन्ने विषयमा मूलतः एमाले र माओवादीका पहिलो र दोस्रो पुस्ताका नेताहरुबीच नै कुरा बाझिएको बताइन्छ ।
दुवै पार्टीका पहिलो पुस्ताका नेताहरुले सानो र चुस्त आकारको संरचना बनाउने अभियानमा छन् भने दोस्रो पुस्ताका नेताहरु ठूलो संरचनाको पक्षमा छन् । पार्टी संरचना कस्तो बनाउने भनेर मूलतः दुई मोडलमा छलफल चलिरहेको छ ।
पहिलो ९९ सदस्यीय केन्द्रीय समिति बनाउने र दोस्रो ३४४ सदस्यीय बनाउने भन्ने बारेमा छलफल चलिरहेको छ । एमालेका ५९ सदस्यीय पोलिटव्यूरोमा एकजना थपेर ६० जना र माओवादीबाट थप हुने ३९ जना गरी ९९ जनाको केन्द्रीय समिति बनाउने सम्भावना छ । ९९ जनाको केन्द्रीय समिति हुँदा पोलिटव्यूरो ३३ सदस्यीय र स्थायी समिति ११ जनाको हुन्छ ।
एमालेका २०६ जनाको केन्द्रीय समितिलाई ६० प्रतिशत मानेर माओवादीबाट १३८ जनासहित ३४४ जनाको केन्द्रीय समिति बनाउने दोस्रो विकल्प हो । यो विकल्पमा जाँदा ११४ सदस्यीय पोलिटव्यूरो, ३८ सदस्यीय स्थायी समिति बनाउनुपर्ने हुन्छ ।
तर, जम्बो संरचना बनाउन दुवै पार्टीका शीर्ष नेताहरुले रूची देखाएका छैनन् । जसले गर्दा प्रस्तावित ‘नेपाल कम्युनिष्ट पार्टी’को संरचना सानो र चुस्त बन्ने सम्भावना बढी देखिएको छ ।
यदि छलफल चलिरहेको पहिलो प्रस्ताव अनुसारको पार्टी संरचना बन्यो भने पार्टी एकीकरणको सम्झौता पत्रमा हस्ताक्षर गर्ने आठ नेताको साथै केही नयाँ नामहरु स्थायी समितिमा आउने छन् ।
जो स्थायी समितिमा आउँदैछन्
एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेल स्थायी समिति सदस्य हुने पक्का भएको छ । यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा पर्ने निश्चित जस्तै छ ।
११ सदस्यीय स्थायी समिति हुँदा बाँकी तीनजना को हुने भन्नेमा छलफल भइरहेको छ । एमालेबाट भीम रावल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल र सुवासचन्द्र नेम्बाङ मध्येबाट दुई जना पर्ने सम्भावना छ ।
त्यस्तै माओवादीको तर्फबाट अमिक शेरचन र कृष्णबहादुर महरा मध्ये एकजना स्थायी समितिमा आउने सम्भावना देखिन्छ ।
मस्त केसी