गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते
कपिलवस्तुमा गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट दाङ जाँदै गरेको ना ६ ख ७९१० नम्बरको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको हो ।
बम लागेर गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।
अन्य घाइतेको चन्द्रौटामा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए ।
बमले बसमा सामान्य क्षति पुर्याएको छ । बम नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रहार गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । रासस