दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्रीबीच भेटवार्ता
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउबीच भेटवार्ता भएको छ ।
आज ललितपुरको खुमलटारस्थित दाहाल निवासमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा नेपाल र चीनबीचको आपसी सम्बन्धका विषयमा छलफल भएको छ ।
भेटमा उपमन्त्री झाउले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकताबारे चासो राखेका थिए ।
झाउले एकीकृत पार्टीलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग रहने पनि बताएका छन् ।
दाहालले नेपालको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकताको निर्णयमा पुगेको बताएका थिए ।
चिनियाँ उपमन्त्री झाउले पार्टी एकीकरणलाई स्वागत गरेको दाहालको सचिवालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।