टिप्पणी शनिबार, असोज १५, २०७३

उपचार या राष्ट्रघात?

हिमालखबर

- डा. मुकेशकुमार साह
जनता अस्पताल नपुग्दै मर्नुपर्ने तर नेताहरू राष्ट्रिय ढुकुटीमा रजाइँ गर्दै विदेशमा उपचार गर्ने प्रवृत्ति राष्ट्रघाती हो।

जब कुनै राष्ट्रिय तहका व्यक्तित्व उपचारका लागि विदेशिन्छन्; आलोचना र प्रहारको ओइरो लाग्छ। मुलुकमै हुनसक्ने उपचारका लागि राज्यको ढुकुटी खर्च गर्नु अनैतिक मात्र होइन, अनियमितता पनि भएको आरोप लगाइन्छ।

यस्ता आरोप लगाउने धेरैमा देशभित्रकै स्वास्थ्य सेवा गतिलो बनाउने असल स्वार्थ देखिन्छ। कतिपयमा भने पूर्वाग्रहीपन पनि देखिन्छ। जस्तो कि, उपचारका लागि एमाले अध्यक्ष केपी ओली विदेशिए ठीक, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गए बेठीक, सुशील कोइराला गए ठीक तर रामवरण यादव गए बेठीक आदि। 

पछिल्लो पटक देशभित्रकै स्वास्थ्य सेवालाई अविश्वास गर्नेमा अरू कोही होइन, राज्य संयन्त्रभित्रै रहेका काम गर्नेहरू नै छन्। तर, उनीहरूले बिर्सेका छन्, इतिहासमा राजा वीरेन्द्र, युवराज दीपेन्द्रलगायत थुप्रै राजपरिवारका सदस्य मात्र होइन, बीपी कोइरालाले समेत उपचारका लागि स्वदेश नै रोजेका थिए। क्यान्सरको थप उपचार सम्भव नभएपछि उनी विदेश त गए तर राज्यको ढुकुटी खर्चेनन्। बीपी पुत्र कांग्रेस महामन्त्री शशांक कोइरालालाई कठिन उपचार पनि काठमाडौंमै सफलतापूर्वक गरिएको हो। यस्ता अनेक उदाहरण छन्।

चिकित्सकले 'रेफर' गरेको हकमा बाहेक आफ्नो इच्छाले राज्यकै खर्चमा महँगो उपचार गराउने सोख नेताहरूमा देखिएको छ। यी नेताहरूमा पूर्व प्रधानमन्त्री ओली पनि पर्छन्। कुरा राष्ट्रवादको गर्ने अनि आफ्नै देशका चिकित्सकलाई विश्वास नगर्ने उनको चरित्र देखिन्छ। यो लहरमा अहिले पूर्व राष्ट्रपति यादव पनि उभिएका छन्।

हो, प्रोस्टेट क्यान्सरको प्रभावकारी उपचार नेपालमा सम्भव नहोला, तर छिमेकी भारत नगई किन उनले अमेरिका नै जान चाहे? मेरा एक भारतीय चिकित्सक मित्रका अनुसार पूर्व राष्ट्रपतिको उपचार भारतीय रुपैयाँ १० लाखभन्दा कममा सकिन्छ। तर, यो कुराका जानकार स्वयं यादव जनताको शिरमा थप ऋणभार बोकाउनमै राजी देखिए।

एक चिकित्सकका नाताले म यो भन्न सक्छु कि सबै देशका चिकित्सकले पढ्ने पुस्तक र विषय लगभग एकै हुन्। तर, ज्ञान र सीप भने उपलब्ध सेवाको आधारमा फरक हुन्छ। देशमै नभएका उपचार पद्धतिबारे नेपाली चिकित्सक प्रभावकारी हुन नसक्लान् तर त्यस्ता रोग वा पद्धति अत्यन्त कम छन्। त्यसबाहेकका सबैखाले उपचारमा नेपाली चिकित्सक सक्षम छन्।

'बेइमान' नेतृत्व
गरीब देशका विशिष्टहरू उपचारका लागि किन विदेशिन्छन्? सोझो जवाफ स्वदेशको उपचार सेवाप्रतिको अविश्वास नै देखिन्छ। तर, उनीहरू विदेशिने चाहना राख्नुका अन्य कारण पनि छन्।

तीमध्ये एक हो, गोपनीयता। त्यसो त आफ्नो रोग गोप्य राख्ने अधिकार सबैको हुन्छ, तर चिकित्सा आचारसंहिताको यो पक्षलाई कसैले पनि गम्भीरताका साथ नलिएको देखिन्छ। विशिष्ट व्यक्तिको रोग सार्वजनिक हुँदा उनीहरूको राजनीतिक प्रभाव र कतिपय अवस्थामा मुलुकलाई नै हानि हुनसक्ने सम्भावना पनि हुन्छ।

रोग गोप्य राख्ने चाहनाले नै भारतीय राष्ट्रिय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीको उपचार विदेशमा गरिएको बताइन्छ। स्वयं चिकित्सकहरू पनि बिरामीमा आफ्नो प्रभाव कायम राख्न देशमै उपचार नगरी विदेशिने गरेको घटनाहरू पनि पंक्तिकारले देखेको छ। तर, यसो गर्न ढिकुटी रित्याउन भने पाइन्न।

अत्याधुनिक प्रविधि र कम पीडादायी उपचारका लागि पनि हाम्रा विशिष्टहरू विदेश धाउँछन्। यो अन्ततः गलत हो। किनभने, देशभित्रै उपचारका आधुनिक प्रविधि भित्र्याउने जिम्मा ती नेताहरूकै हो। यसले जनता देशभित्रै उपचार अभावमा मरिरहने र नेताचाहिं राष्ट्रिय ढुकुटी रजाइँ गर्दै बाँचिरहने अवस्था जारी छ।

आफ्नै देशको उपचारप्रति भरोसा नहुनु भनेको आफ्नै अक्षमता प्रमाणित हुनु हो। स्वदेशमै भरपर्दो उपचार सेवा व्यवस्था गर्न छाडेर आफू मात्रै बाँच्ने दौडमा लागेका विशिष्टहरूले जनताप्रतिको हदैसम्मको बेइमानी गरिरहेका छन्। त्यसमाथि पनि आफ्नो उपचारका लागि जनताको कर खर्चनु अनैतिक आचरण पनि हो।

नवनियुक्त स्वास्थ्यमन्त्री गगन थापाले आफ्नी छोरीको उपचार कान्ति बाल अस्पतालमै गराएको कुराले चर्चा पाएको छ। तर, यो छोरी, श्रीमतीको हकमा मात्र लागू हुनुहुँदैन। विशिष्ट भनाउँदा सबैलाई स्वदेशमै हुनसक्ने उपचारका लागि राष्ट्रिय धन खर्च गरी विदेशमा उपचार गराउन निषेध गर्ने नीति बनाउनुपर्छ।
(डा. साह दक्षिण भारतमा अस्पताल व्यवस्थापन विषयमा एमबीए दोस्रो वर्षमा अध्ययनरत छन्।)

प्रतिकृया दिनुहोस