हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या
नेपालमा हरेक पाँच जनामध्ये एक जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक तथा पुनर्जागरण महाशाखाद्वारा पहिलो पटक आयोजित “अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन— २०१८” मा नेपालमा मानसिक रोगको समस्या उच्च रहेको जानकारी दिइएको हो ।
स्वास्थ्य सचिव डा पुष्पा चौधरीले मानसिक स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य मन्त्रालयको कार्यक्रमभित्र राखेर प्राथमिक तथा पुनर्जागरण महाशाखाको नेतृत्वमा अघि बढाइएको चर्चागर्दै मानसिक स्वास्थ्य समस्यालाई उपचारको पहुँचसम्म ल्याउनका लागि नयाँ स्वास्थ्य नीतिमा पनि यो बिषयलाई समावेश गरिएको जानकारी दिइन् ।
नेपालका लागि नर्वेका राजदूत लास्से जोह्यान्सन र विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोश वानडेलरले मानसिक रोगले विश्वमै ठूलो समस्या ल्याइरहेकाले यसका लागि मिलेर काम गर्नुपर्ने बताउँदै मानसिक र मनोरोगका बारेमा मानिसमा रहेको गलत धारणालाई परिवर्तन गरी उपचार गर्दा निको हुने जनचेतनाको विकास गर्नुपर्ने बताए ।
भोलिसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, युएई, बंगलादेश, कतार, अष्ट्रेलिया, नर्वेलगायत १२ देशका मानसिक तथा मनोसामाजिक क्षेत्रका विज्ञ, सेवाग्राही, सम्बन्धित सरोकारवाला संघसंस्थाका प्रतिनिधि र विद्यार्थी गरी ३५० भन्दा बढीको सहभागिता छ ।
रासस