सरकारमा कांग्रेसको कमजोर प्रस्तुति: नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारमा कांग्रेस कमजोर रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले भने, "कांग्रेस ठूलो पार्टी भए पनि सरकारमा माओवादी ठूलो पार्टी भएको झैँ गरेर प्रस्तुत भइरहेको छ ।"
सिंहले स्थानीय तहको निर्वाचन र सीमाङ्कनलगायतका विषयमा कांग्रेस नेतृत्व गम्भीर हुनुपर्ने भन्दै कांग्रेस ठूलो दल भए पनि सरकार सञ्चालनमा त्यस अनुरुपको प्रभावकारी भूमिका निर्वाह नगर्दा कार्यकर्तामा निराशा उत्पन्न भएको बताए ।
विधानअनुसार चलेमात्र पार्टी बलियो हुने र यसका लागि नेतृत्व गम्भीर हुनुपर्ने बताउँदै उनले पार्टी महाधिवेशन भएको ६ महिना बित्दासम्म पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउनु दुःखद अवस्था भएको बताए ।
नेपाली कांग्रेस काठमाडौँका सभापति सवुज बानियाँले सीमाङ्कनका विषयमा दलहरुबीच सहमति भइसकेकाले स्थानीय निकायको निर्वाचनमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।