प्रधानमन्त्रीओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, भारत भ्रमणको निम्तो
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् ।
मोदीले हिजो राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए ।
टेलिफोन कुराकानीमा मोदीलाई प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको बताएको र भारतसँगको मित्रता अझै सुदृढ बनाएर लैजान आफू प्रयासरत रहने ओलीले बताएको प्रेस संयोजक अधिकारीले जानकारी दिए ।
राजदूत पुरी मध्यराति बालकोटमा
त्यसैगरी, भारतीय राजदूत मञ्जिभसिंह पुरी बिहीबार मध्यराति बालकोटस्थित प्रधानमन्त्री ओली निवास पुगेर बधाई तथा शुभकामना दिएका छन् । राजदूत पुरीमार्फत भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देशमा प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व पाउने आशा व्यक्त गरिएको छ ।
ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त गर्दै शुभकामना पत्रमा मोदीले नेपाल र भारतको प्रगाढ विश्वास, सद्भाव र पारस्परिक विश्वासमा आधारित युगौँ पुरानो सम्बन्धलाई विकास गर्न आफूहरुले उच्च महत्व दिने उल्लेख गरिएको छ ।
बिहीबार राति नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएकी छन् ।
रासस