वीरगञ्जका विभिन्न स्थानमा २९ वटा सीसी क्यामरा, थप ७१ जडान गरिने
गत मधेश आन्दोलनताका वीरगन्ज नगरका विभिन्न स्थानमा राखिएको सीसी क्यामरा तोडफोड भएपछि अहिले फेरि जिल्ला प्रहरी कार्यालय पर्साले नगरका २९ स्थानमा सीसी क्यामरा जडान गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको सहयोगमा ‘सेफर वीरगञ्ज’ संस्थाले नगरका विभिन्न २९ स्थानमा सीसी क्यामरा जडान गरेको हो ।
वीरगन्जको घण्टाघर, माइस्थान, आदर्शनगर, लाठगल्ली, मकालु होटेल चोक, ठाकुरराम क्याम्पस जाने बाटो, नगर सभागृह लगायतका संवेदनशील स्थानमा सीसी क्यामरा जडान गरिएको वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् सेफर वीरगञ्जका अभियन्ता गणेश लाठले जानकारी दिए ।
वीरगञ्जको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर २९ वटै स्थानमा नयाँ र गुणस्तरीय क्यामरा जडान गरी आजै बाट सञ्चालनमा ल्याएइएको प्रहरीले जनाएको छ ।
“अत्याधुनिक प्रविधीयुक्त एचडी क्वालिटीका यि क्यामराहरु कन्ट्रोल रुमबाटै घुमाउन सकिने भएकोले अपराध अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
हाल पहिलो चरणमा रु १४ लाखको लगानीमा २९ वटा सीसी क्यामरा जडान गरिए पनि दशैंलगत्तै अर्को चरणमा ७७ गरी जम्मा १०० सीसी क्यामरा जडान गर्ने जानकारी दिए ।
एक सय वटा क्यामरा जडान गर्दा करिब रु ३० लाख रुपैयाँ खर्च हुने सेफर वीरगञ्जको अनुमान छ ।
यि सीसी क्यामराबाट नगरको गतिविधि जिल्ला प्रहरी कार्यालयको कन्ट्रोलरुमबाट प्रत्यक्ष निगरानी हुने व्यवस्था मिलाइएको छ ।
जियालाल साह, पर्सा