एमाले प्रदेश ४ संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत
नेकपा एमाले प्रदेश ४ संसदीय दलको नेतामा पृथ्वी सुब्बा गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।
संसदीय दलको आज बसेको बैठकले एमाले केन्द्रीय संगठन विभाग प्रमुख समेत रहेका गुरुङलाई दलको नेतामा चयन गरेको हो ।
संसदीय दलका नेताका अर्का आकांक्षी किरण गुरुङले दाबी छाडेपछि पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत निर्वाचित भएको एमाले प्रदेश सभा सदस्य धनञ्जय दवाडीले जानकारी दिए ।
संसदीय दलका नेतामा यसअघि दुबै नेताको दाबी रहँदै आएको थियो ।
नेता गुरुङ एमालेको संसदीय दलका नेतामा चुनिएपछि प्रदेश ४ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
संविधानले बहुमत प्राप्त दलको संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ ।
प्रदेश ४ मा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३, नयाँशक्ति पार्टीका २ र एक जना स्वतन्त्र सांसद गरी ६० जना सांसद छन् ।
प्रदेश ४ मा कास्की, तनहुँ, नवलपरासी, लमजुङ, गोरखा, बाग्लुङ, स्याङ्जा, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङ गरी ११ जिल्ला छन् ।
युवराज श्रेष्ठ, पोखरा