इलोनको योजनाले ल्याएको उत्साह
डा. प्रज्वल काफ्ले
इलोन मस्कले सन् २०२४ भित्रै मंगल ग्रहमा मानव बस्ती बसाउने योजना त बनाएका छन नै पृथ्वीमै एकठाउँबाट अर्को ठाउँ जान आवाजभन्दा छिटो कुद्ने रकेटको कल्पना पनि गरेका छन् ।
जसरी माइक्रोसफ्टका संस्थापक बिल गेट्स, एप्पलका स्टिभ जब्स र फेसबूकका मार्क जुकरवर्ग धनी र विश्वचर्चित भए । त्यही बाटोमा छन् सिलिकन भ्यालीका उदयीमान खर्बपति मध्येका एक इलोन मस्क ।
दक्षिण अफ्रिकामा जन्मिएका मस्कलाई फोब्र्स पत्रिकाले २१औं शक्तिशाली र ५३औं धनी व्यक्ति ठहर्याएको छ ।
विश्वका एक नव–धनाड्य वा उद्यमी मात्र भन्दा उनमाथि अन्याय हुनसक्छ । अकल्पनीय कुरा सोच्न सक्ने र त्यो सोचलाई पूरा गरी छाड्ने उनको क्षमताले मस्कको ख्याती विश्वभर फैलिएको छ ।
पछिल्ला केही वर्षहरुमा मात्रै उनले गरेका प्रयोगहरु साहसिक र अकल्पनीय छन् ।
चन्द्रमामा मान्छेले नटेकेको ३५ बर्ष भइसकेको छ । अन्तरिक्ष यानमा संयुक्त राज्य अमेरिका जस्ता शक्तिशाली देशहरुले लगानी गर्न छोडेको ७ वर्ष बितिसकेको छ ।
तर, एक्लो व्यक्ति इलोन मस्क सन् २०२४ सम्ममा मानव सहितको यान मंगल ग्रह पुर्याउने योजनामा छन् ।
मंगल ग्रहमा मानव यान पठाउने कुरामा मात्रै उनको कल्पना सीमित छैन । उनी त्यहाँ मानव बस्ती बसाल्न चाहन्छन् ।
त्यसैको तयारी स्वरुप २४ माघ बिहान मात्रै उनको स्पेस–एक्स कम्पनीले शक्तिशाली फ्याल्कन हेभी रकेटको सफल परीक्षण गरेको छ, जुन अहिलेसम्मकै द्रुत गति र बढी वजन बोक्न सक्ने क्षमता भएको रकेट हो । यसको दुई भाग पृथ्वीमै सफल अवतरण गराइएको छ भने एक भाग तीव्र गतिमा समुन्द्रमा खसेर नष्ट भएको छ ।
फ्याल्कनको सफल परीक्षणले अबको ६ वर्षभित्रै मंगलग्रहमा मानव सभ्यताले पाइला टेकी सक्ने सम्भावनालाई नजिक ल्याइदिएको छ ।
इलोनले कल्पना गरेको अर्को प्रविधि आवाजको गतिभन्दा छिटो कुद्न सक्ने क्षमता भएको साधन हुनेछ । जसले पृथ्वीमै मानिसलाई बोकेर आवाजभन्दा पनि चाँडै एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउनेछ ।
उनले तयार गर्दै गरेको नयाँ रकेटले काठमाडौंबाट लण्डन वा न्यूयोर्कको यात्रा झण्डै एक घण्टामा तय गर्न सक्नेछ ।
मस्कको योजना अनुसार रकेटलाई पृथ्वीको तल्लो कक्षसम्म प्रक्षेपण गरिनेछ । उक्त रकेट अत्यन्तै थोरै इन्धनको सहायताले एक ठाउँबाट अर्को ठाउँ सम्म पुग्नेछ । जसको इन्धनको लागत ठूला बोइङको हाराहारीमा मात्रै हुनेछ ।
उनले बनाएको रकेटका धेरै भाग पुनः प्रयोग गर्न मिल्ने किसिमका छन् । जसले गर्दा अन्तरिक्ष यात्रा किफायती हुन्छ ।
पृथ्वीदेखि श्रोत, साधन, खाद्यान्न र अन्य वस्तु ओसारपसार गर्नुपर्ने भएकाले रकेट किफायती हुनु आवश्यक छ ।
त्यस्तै उनी अमेरिकाको क्यालिफोर्निया राज्य र चीनको संघाईमा हाइपरलुप नामक यातायात प्रणालीको नमूना बनाउन पनि तल्लीन छन् ।
‘हाइपरलुप’ प्रणालीमा हावा नभएको अर्थात् भ्याकुम सुरूङ्मा केवलकार जस्ता स–साना डब्बाहरु हवाईजहाज भन्दा द्रुत गतिमा एक ठाउँबाट अर्को ठाउँ पुर्याउने प्रविधि हो ।
उक्त प्रयोग सफल भए ठूल्ठूला शहरको यातायात प्रणालीमा कायापलट हुनेछ ।
त्यस्तै उनी ऊर्जाका लागि मुख्यतः कोइलामा निर्भर रहेको अस्ट्रेलियालाई अत्यधिक कार्बन उत्सर्जनको बोझ घटाउन भर्चुअल पावर हाउसको अवधारणामा काम गर्दैछन् ।
४६ वर्षीय इलाेन मस्कले कल्पना गरेका छन् “एउटा क्षुद्रग्रह, उल्का वा ज्वालामुखीले पृथ्वी जतिबेला पनि तहसनहस हुन सक्छ ।”
ग्लोबल वार्मिङ, कहिले थाहा नपाएको अनौठो इन्जिनियरङ भाइरस वा रोगहरु, वैज्ञानिक प्रयोगका सिलसिलामा बन्ने अप्रत्याशित वस्तुहरु (जस्तैः मिनी–ब्ल्याक होलहरु), आणविक हतियार सहितका प्रतिस्पर्धी मुलुक लगायत अप्रत्याशित कारणले दशौं लाख वर्षमा विकास भएको मानव सभ्यता गुम्न सक्ने मस्कले अनुमान गरेका छन् ।
ढिलोचाँडो अहिले बसिरहेको बासस्थान भन्दा (पृथ्वी) बाहिर पुग्न सकिएन भने मानव जाति नै लोप हुने पक्का रहेको मस्कको दावी छ ।
-डा काफ्ले युनभर्सिटी अफ वेस्टर्न अष्ट्रेलियाको इन्टरनेशनल सेन्टर फर रेडियो एस्ट्रोनोमी रिसर्च (आईसीआरएआर) मा रिसर्च एशोसिएटका रुपमा कार्यरत छन् ।