राष्ट्रियसभा निर्वाचनः प्रदेश १ बाट दुवै सदस्य एमाले निर्वाचित
प्रदेश नं १ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि आज भएको निर्वाचनमा दुवैमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
विराटनगरस्थित वीरेन्द्रसभा गृहमा आज अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले ६ हजार २७० मत प्राप्त गरी विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनयकुमार विश्वकर्माले २ हजार २३२ मत प्राप्त गरे ।
अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा निर्वाचित भए । बान्तवाले ६ हजार १३८ मत प्राप्त गरी निर्वाचित भए भने नेपाली कांग्रेसका महेश जाजुले २ हजार ८९८ मत मात्रै प्राप्त गरेको प्रदेश नं १ का सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए ।
यसअघि, महिलाको तीन पद र खुलाको तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । कूल आठ स्थानमा एमालेका ५, कांग्रेसका २ र माओवादी केन्द्रका एकजना निर्वाचित भएका छन् ।
यसअघि निर्विरोध निर्वाचित हुनेमा खुला समूहबाट एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र कांग्रेसबाट रमेशजंग रायमाझी छन् । त्यस्तै, महिला समूहबाट एमालेका नैनकला ओझा, माओवादी केन्द्रका विना पोखरेल र कांग्रेसका सरिता प्रसाईं छन् ।