प्रदेश २ बाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई प्रमाणपत्र वितरण
निर्वाचन कार्यालयले प्रदेश नं २ बाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेको छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यालय प्रदेश २ ले २४ माघ अपराह्न जनकपुरमा एक समारोहको आयोजना गरी निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।
प्रदेश नं २ मा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा ८ जना चयन हुनुपर्नेमा ९ जनाले उम्मेदवारी दिएका थिए । तर, नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद शेषले १४ माघमा उम्मेदवारी फिर्ता लिएपछि आठै जना निर्विरोध निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसबाट मुक्ता यादव र जितेन्द्र नारायण देब, संघीय समाजवादी फोरमबाट रामप्रित पासवान र प्रमिला देवी यादव, राजपा नेपालबाट वृशेष चन्द्र लाल र रमेश यादव, नेकपा एमालेबाट सुमनराज प्याकुरेल र माओवादी केन्द्रबाट शशिकला दहाल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचित जनप्रतिनिधिहरुले भूगोल विशेषको प्रतिनिधित्व गरेकोले आफ्नो क्षेत्रलाई प्राथमिकतामा राखेर देश हितमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
उच्च अदालत जनकपुरका न्यायाधीश उदयप्रकाश चापागाईले निर्वाचित सदस्यहरुलाई शुभकामना र बधाई दिएका थिए ।
ईश्वरचन्द्र झा, जनकपुर