प्रदेश–१ मा एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने
प्रदेश–१ मा नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि २६ माघमा निर्वाचन हुने भएको छ ।
आज बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।
एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा प्रेम पोखरेल र टीकाराम पुरी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ ।
प्रदेश–१ मा एमाले संसदीय दलको नेताको लागि केन्द्रीय सचिव भीम आचार्य, पोलिटब्यूरो सदस्य शेरधन राई र केन्द्रीय सदस्य जीवन घिमिरेले दाबी गर्दै आएका छन् ।
तीन नेताबीच सहमतिको प्रयास सम्भव नभएपछि अन्ततः निर्वाचन हुने भएको हो ।
प्रदेश नं १ मा एमाले एक्लैको बहुमत रहेकाले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने छन् । रासस