कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख
सातवटै प्रदेशका प्रदेशसभाको बैठक धमाधम शुरु भएको छ ।
प्रदेश २, ५, ६ र ७ को पहिलो बैठक आज सम्पन्न भएका छन् । प्रदेश १ र ४ को पहिलो बैठक सोमबार बस्नेछ भने प्रदेश ३ को बैठक यसअघि नै १८ माघमा सम्पन्न भइसकेको छ ।
संघीयता कार्यान्वयनको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशसभाका सबै बैठकले पहिलो चरणमा सभामुख चयनलाई नै पहिलो कार्यसूची बनाएका छन् ।
सबै प्रदेशसभाको बैठकले सभामुख चयनको कार्यसूची तय गरेको छ ।
१८ माघमा बसेको प्रदेश ३ को बैठकले सभामुख चयनका लागि २७ माघको मिति तय गरेको छ ।
त्यस्तै प्रदेश १ मा २९ माघ,
प्रदेश २ मा २ फागुन,
प्रदेश ४ मा ३ फागुन (सम्भावित),
प्रदेश ५ मा २ फागुन,
प्रदेश ६ मा २९ माघ र
प्रदेश ७ मा २९ माघमा सभामुख चयन गर्ने कार्यसूची तय गरिएको छ ।
प्रदेशसभाका बैठकले सभामुखको चयनको मुख्य कार्यसूची तय गरेपछि प्रमुख राजनीतिक दलहरुबीचमा समेत छलफल प्रारम्भ भएको छ ।
एमाले र माओवादी केन्द्र बीच भएको सहमतिअनुसार प्रदेश नं १, ३, ६ र ७ को सभामुखमा एमालेले उम्मेदवारी दिनेछ भने प्रदेश नं ४ र ५ मा भने माओवादी केन्द्रले सभामुखमा उम्मेदवारी दिने सहमति भएको छ ।
प्रदेश नं १ को सभामुखमा एमाले र उपसभामुख माओवादी केन्द्रका तर्फबाट चयन हुने सहमति यसअघि नै भएको छ । एमाले सचिव भीम आचार्य मुख्यमन्त्रीको आकांक्षी छन् । सोही पार्टीका अर्का नेता शेरधन राईसमेत मुख्यमन्त्रीको आकांक्षी भएकाले सभामुखको उम्मेदवार टुंगो लागिसकेको छैन ।
दुई दलीय कार्यदलले सभामुख चयनमा यसअघि नै सहमति जुटाएको हो ।
प्रदेश नं २ मा भने राष्ट्रिय जनता पार्टीले सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । सभामुख चयनका सम्बन्धमा छलफल जारी रहेको र केही दिनभित्रै उम्मेदवार चयन गरिने राजपाका महासचिव मनिष सुमनले जानकारी दिए । सुमन स्वयं पनि सभामुखको दाबेदार हुन् ।
उक्त प्रदेशमा मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालले दाबी गरेको छ ।
प्रदेश नं ३ को सभामुखमा हालका ज्येष्ठ सदस्य डोरमणि पौडेलको सम्भावना नै बढी रहेको एमाले नेताहरुको भनाइ छ । सबैभन्दा बढी प्रदेशसभा सदस्य रहेको सो प्रदेशमा यही २७ माघमा सभामुख चयन गर्ने कार्यसूची छ ।
यस्तै प्रदेश नं ४ मा माओवादी केन्द्रका तर्फबाट पूर्वमहिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला मुख्य प्रतिस्पर्धी छन् ।
यस्तै गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित लेखबहादुर थापाले पनि सभामुखका लागि आकांक्षा व्यक्त गरेका छन् ।
यस्तै प्रदेश नं ५ मा मुख्यमन्त्री एमालेले र प्रदेश सभामुख माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको सन्दर्भमा गुल्मीबाट निर्वाचित सुदर्शन बराल, पूर्व रुकुमबाट निर्वाचित पूर्ण घर्तीले इच्छा व्यक्त गरेका छन् ।
प्रदेश नं ६ को मुख्य मन्त्री माओवादी केन्द्रले पाउने सहमति भएकाले सभामुखमा एमाले हालसम्म आधिकारिक उम्मेदवार टुंगो लगाएको छैन ।
सो प्रदेशमा मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका तर्फबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी चर्चामा छन् ।
यस्तै प्रदेश नं ७ मा पनि मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेकाले सभामुखमा एमालेको तर्फबाट नै उम्मेदवारी दिने तयारी छ ।
एमालेको तर्फबाट कञ्चनपुरबाट निर्वाचित तारालाल तामाङ, बझाङबाट निर्वाचित अर्जुन थापाको चर्चा छ । तर आधिकारिक निर्णय भने हुन बाँकी छ ।
मुख्यमन्त्रीमा भने माओवादी केन्द्रले डोटीबाट निर्वाचित त्रिलोचन भट्टलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
रासस