प्रदेश–५ को पहिलो बैठक सम्पन्न, सभामुखको निर्वाचन २ फागुनमा
प्रदेश सभा सभामुखको निर्वाचन मिति तय गरी प्रदेश–५ को पहिलो बैठक सम्पन्न भएको छ ।
आज बसेको बैठकले सभामुखको निर्वाचन मिति २ फागुनका लागि तोकेको हो ।
पहिलो बैठकले आन्तरिक कार्यविधि तयार गरेको छ । बैठकले सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्न पाँच सदस्यीय समिति मनोनित गरेको छ ।
आजको बैठकमा नेकपा एमालेका तर्फबाट शंकर पोखरेल, नेपाली कांग्रेसका वीरबहादुर राणा, माओवादी केन्द्रका कूलप्रसाद केसी, संघीय समाजवादी फोरमका सहर्षराज यादव र राष्ट्रिय जनमोर्चाका तारा जिसीले सम्बोधन गरेका थिए ।
प्रदेश–५ मा एमाले, कांग्रेस, माओवादी, समाजवादी फोरम र राष्ट्रिय जनमोर्चा गरी पाँच दलको मात्रै प्रतिनिधित्व छ ।
बैठकको अध्यक्षता संसद्का ज्येष्ठ सदस्य, नेपाली कांग्रेसका सांसद् बलदेव शर्माले गरेका थिए ।
दीपक ज्ञवाली, बुटवल