सिमसारको संरक्षणका लागि कृत्रिम ताल निर्माण
चितवनको मृगकुञ्ज मध्यवर्ती वन उपभोक्ता समितिले विभिन्न स्थानमा कृत्रिम ताल निर्माण गरिरहेको छ ।
वन समिति पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने सिमसार क्षेत्रको विस्तार र संरक्षणको लागि ताल निर्माणमा जुटेको हो ।
वन समितिका अध्यक्ष वासु ढुंगानाका अनुसार पछिल्लो समय सिमसार क्षेत्र नासिँदै गएकोले कृत्रिम तालतलैया निर्माण गर्न थालिएको हो ।
मृगकुञ्ज मध्यवर्ती क्षेत्रमार्फत कोकाकोला फाउण्डेसन र विश्व वन्यजन्तु कोषको सहयोगमा रत्ननगर टिकौली जंगलको ठूलो घोल क्षेत्रमा बाँध बनाएर ताल तथा सिमसार क्षेत्र विस्तार गरिएको छ ।
अघिल्लो वर्षपनि १० हेक्टर क्षेत्रफलमा १७ हजारी तालको व्यवस्थापन गरिएको थियो ।
ताल तथा सिमसारमा वन्यजन्तु, चराचुरुङ्गी लगायत आश्रित हुने गर्छन् । सिमसार क्षेत्र नभएमा तिनीहरुले बासस्थान नै परिवर्तन गर्ने भएकाले सिमसार क्षेत्र संरक्षण जरुरी रहेको ढुंगानाले बताए ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक जलवायु परिवर्तन, मिचाहा प्रजातिका झार, वन फँडानी लगायतका कारणले सिमसार क्षेत्र प्रभावित भएको बताउँछन् । रासस