बोटबिरुवाको पनि डिएनए परीक्षण
मानिस र जनावरको जस्तै बोटबिरुवाको पनि डिएनए परीक्षण शुरु भएको छ ।
ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले बोटबिरुवाको फूल, पात बोक्रालगायतका भागबाट डिएनए परीक्षण थालेको हो ।
वनस्पतिमा रहेको आशिंक गुणका आधारमा परीक्षण गर्न थालिएको नाष्टमा कार्यरत वैज्ञानिक डा. रामचन्द्र पौडेलले बताए । यसले लोपन्मुख जातीको बोटबिरुवालाई भविष्यसम्म सुरक्षित गर्नका लागि सहयोग गर्ने पौडेलले जानकारी दिए ।
“बिरुवामा भेटिएको गुण अर्को वनस्पतिसँग जुधाएर हेरिन्छ, केही गुण धेरै वटासँग मिल्न सक्छ,” पौडेलले भने, “सबै भन्दा बढी गुण जुनसँग मेल खान्छ, त्यो वनस्पति त्यही जातको हो भनेर चिनिन्छ ।”
अहिले लोपोन्मुख र नेपालमा मात्रै पाइने जातका बोटबिरुवाको डिएनए परीक्षण भइरहेको छ ।
नास्टअन्तर्गतको विधि विज्ञान प्रयोगशालाले अघिल्लो वर्षबाट मात्रै जनावरको डिएनए परीक्षण शुरु गरेको थियो । रासस