चैतदेखि देशभर २० वर्ष पुराना सवारी साधन सञ्चालन गर्न नपाइने
आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।
यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो ।
विभागले २०७३ फागुनदेखि काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरेको थियो । तर, उक्त निर्णय पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन ।
यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईले फागुन मसान्तसम्म २० वर्ष पुराना सवारी नहटाए कानूनी कारबाहीका साथै सवारी साधन समेत नियन्त्रणमा लिइने जानकारी दिए ।
विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिने जनाएको छ । हाल देशभर २० वर्ष पुराना ५,५०० सवारी साधन सञ्चालनमा छन् । रासस