तीन महिनादेखि शिक्षकले तलब पाएनन्
बैतडीको दशरथचन्द नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तीन महिनादेखि तलब पाएका छैनन् ।
नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा गर्न नसक्दा शिक्षकले तलब नपाएका हुन् ।
शिक्षकहरुले तलब समयमै उपलब्ध गराइदिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
यसअघि जिल्ला शिक्षा कार्यालयबाट तलब बुझ्दै आएका शिक्षकले चालू आर्थिक वर्षको पहिलो चौमासिकको तलब नगरपालिकाबाट पाएका थिए ।
तर, नगरपालिकाले दोस्रो चौमासिकको तीन महिना बित्नै लाग्दा समेत बजेट निकासा गर्न सकेको छैन ।
स्थानीय तह गठनपछि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबभत्ता सम्बन्धित गाउँ तथा नगरपालिकाले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।
बजेट अपुग भएकाले तलब समयमै दिन नसकिएको दशरथचन्द नगरपालिकाले जनाएको छ ।
शिक्षा विभागबाट कम बजेट आएकाले तत्काल तलब दिन नसकिएको र अपुग रकम माग गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन ।
नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका लागि विभिन्न १३ शीर्षकमा बजेट विनियोजन हुने गर्दछ । रासस