विश्वव्यापी काेराेनाभाइरस महामारी

१५६५२९४

हालसम्म संक्रमित

३४५८६७

निको भएका

९१९१२

मृत्यु हुनेको संख्या

नेपाल

जम्मा संक्रमित

निको भएको

अपडेटः बिहीबार, २७ चैत २०७६ । ११: ०० बजे राति | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

समाचार शनिबार, माघ १३, २०७४

लेख्नकै लागि पोखरा

युवराज श्रेष्ठ

कला–साहित्यको बजार विस्तारसँगै पर्यटकीय केन्द्र पोखरा लेखकीय गन्तव्य पनि बनिरहेको छ।

पोखरा सराङकोट । तस्वीर: रविन गिरी

ओभरकोट, डिङ्गो बूट, पाइजामा, कानमा मुन्द्रा, गलामा ठूला–ठूला माला, हो ची मिन्ह शैलीको दाह्री । १८ पुसमा यही भेषमा साहित्यकार कुमार नगरकोटी पोखराको लेकसाइडमा भेटिए । त्यसो त यो पर्यटकीय नगरीमा जोकोही आउनु जानु अनौठो होइन ।

तर, यसपटकको नगरकोटीको भ्रमणको उद्देश्य धेरैको भन्दा फरक र विशेष छ । उनी लेख्नका लागि पोखरा आएका हुन् । “फिल्मको पटकथा लेख्दैछु, निर्देशन पनि आफैंले गर्ने मनसाय छ”, लेकसाइडको होटल स्नोल्याण्डमा बसिरहेका नगरकोटी भन्छन् । 

नगरकोटी पोखरामा जस्तो लेखकीय आनन्द अन्यत्र नपाएको बताउँछन् । उनको भनाइमा, यो शहरका ताल, हिमाललगायत प्राकृतिक सुन्दरता मात्र होइन मानवनिर्मित कला पनि खास छ ।

कुमार नगरकोटी

“यहाँका रेस्टुरेन्ट, कफी पसल र होटलहरू पनि कलात्मक छन्”, गत भदौमा संस्मरणात्मक कृति दोचा पाठकसामु ल्याएका नगरकोटी भन्छन् ।

कर्नाली ब्लूज र फिरफिरे जस्ता चर्चित उपन्यासका लेखक बुद्धिसागरले पनि गत मंसीरमा १५ दिन पोखरामै बिताएका थिए । काम थियो, उही पटकथा लेखन ।

चलचित्र निर्देशक रामबाबु गुरुङको निर्देशनमा बन्ने भनिएको चलचित्र बर्मजङ को पटकथालाई पोखराका ताल, हिमाल हेर्दै लेखेको बुद्धिसागर बताउँछन् ।

“पोखराले तलतल मेटाउँछ” उनी थप्छन्, “लेकसाइडमा थकाइ मार्न आउनेहरूको मुहारमा देखिने हर्षले मलाई पनि हर्षित बनाउँछ ।”

त्यसो त निर्देशक गुरुङ पनि हालै मात्र चलचित्र ‘साइँली’ को पटकथा पोखरामै बसेर लेखेको बताउँछन् । “पोखराको वातावरणले मूड बनाउँछ”, गुरुङको अनुभव छ ।

ढुक्क भई लेख्नैका लागि पोखरा आउने चलन नयाँ होइन । तर, पछिल्लो समय यो शहरमा लेखक, साहित्यकार आउने क्रम बढेको छ ।

९ डिसेम्बर १९७१ मा रिलिज भएको हिन्दी चलचित्र ‘हरे कृष्ण हरे राम’ को स्क्रिप्ट पनि पोखरामै बसेर लेखिएको थियो । त्यतिबेला सुपर डुपर हिट उक्त चलचित्रका नायक देव आनन्दले पोखराको फेवा किनारस्थित फिस्टेल लजमा बसेर चलचित्रको स्क्रिप्ट लेखेका थिए । 

कवि तीर्थ श्रेष्ठ पनि पोखरामा आएर लेख्ने वा पोखरा आउँदा लेख्ने कुरा नौलो नभएको बताउँछन् । कवि सिद्धिचरण श्रेष्ठ र केदारमान व्यथित लेख्नकै लागि पोखरा आइरहन्थे । “पोखरा त साँच्चिकैको पोखरा नै रै’छ” गीत पोखरा आएकै बेला प्रेमप्रकाश मल्लले रचेका थिए ।

बुद्धिसागर

“पोखरा आएपछि नलेख्नेहरू पनि लेख्ने बन्छन्, नगाउनेहरू पनि गुनगुनाउन थाल्छन्”, नेपाल साहित्य महोत्सव, २०१६ मा पोखरामै जन्मिएको ब्याण्ड नेपथ्य का गायक अमृत गुरुङले भनेका थिए ।

पोखराको प्रकृति, संस्कृति, स्वच्छ र शान्त वातावरणले लेखनमा स्फूर्ति जगाउने लेखकहरूको भनाइ छ । कवि मुकुन्दशरण उपाध्यायले त ‘प्राकृत पोखरा’ काव्यमा लेखेकै छन्–

“यात्री ! मिल्काउ यो काव्य, हेर्न जाउ स्वयं छिटो

लेखेको पोखरा भन्दा देखेको पोखरा मिठो !”

एकान्त लेखन
लेख्नका लागि परिवारभन्दा टाढा कतै एकान्तवासमा जाने परम्परा विकसित मुलुकका स्रष्टाका लागि नयाँ होइन । यसका लागि विभिन्न गैरसरकारी संस्थाका साथै कतिपय देशमा सरकार स्वयंले पनि प्रायोजन गर्छन्, जसलाई ‘राइटिङ रेसिडेन्सी’ पनि भनिन्छ ।

नेपालमा पनि एकाध पटक यस्ता प्रकृतिका छोटा छोटा लेखन शिविर चलेको कवि श्रेष्ठलाई सम्झना छ । तर, त्यसले निरन्तरता पाएन ।

पूरा नभएका सिर्जनालाई मूर्तरुप दिन र नयाँ सिर्जनाको अवधारणाका लागि पनि यस्तो बसाइ उपयोगी मानिन्छ । “कथावस्तु घरमै बनाए पनि औपन्यासिकीकरण गर्न उपयुक्त वातावरण चाहिन्छ, त्यसैले पनि यस्तो बसाइ महत्वपूर्ण हुने गर्छ”, नगरकोटी भन्छन् । 

पछिल्लो समय यदाकदा प्रकाशन गृह, चलचित्रका लगानीकर्ताले लेखकका लागि यस्तो अवसर सिर्जना गरेको देखिन्छ । लेखक स्वयंले पनि लेख्नका लागि घर बाहिर भीडभाड र कोलाहलविनाको ठाउँ रोज्ने गरेका छन् ।

कवि श्रेष्ठ पहिलेजस्तो लेखन ‘स्वान्तः सुखाय’ मा सीमित नभएकाले यस्तो प्रवृत्ति बढेको बताउँछन् । “लेखन व्यावसायिक बनिरहेको छ, प्रकाशकले पेश्की दिएर लेख्न लगाउने दिन आउनु सुखद संकेत हो”, उनी भन्छन् ।

तीर्थ श्रेष्ठ

पोखराको प्रकृति, संस्कृति, शान्त र स्वच्छ वातावरणले धेरैको मनमा नयाँ स्फूर्ति दिएको छ । त्यही स्फूर्तिले लेखनमा पनि स्फूर्ति जगाउने स्रष्टाहरूको भनाइ छ । त्यही भएर नै पोखराको वर्णनमा कवि मुकुन्दशरण उपाध्यायले आफ्नो ‘प्राकृत पोखरा’ वर्णनात्मक काव्यमा पाठकलाई यसरी स्वयं पोखरा हेर्न आग्रह गरेका छन् ।


शिथिल सिर्जनाग्राम
लेखक/साहित्यकारलाई पोखरामा बसेर लेख्न प्रोत्साहन गर्ने उद्देश्यले पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) को नेतृत्वमा २०५५ सालमा लामागाउँमा दुई वटा घर र सभा हल नै बनाइयो । र, नाम दिइयो– सिर्जनाग्राम ।

चन्दा उठाएर बनाइएको यो भवन जाने बाटोमै माओवादीले २०६१ सालमा पोखरा ४ नदीपुरका टंक गौचनलाई मारेपछि योजना नै चौपट भयो । “अनि त त्यहाँ जान नै डर हुन थाल्यो”, तीर्थ श्रेष्ठ सम्झन्छन् ।

सिर्जनाग्राममा एकै पटकमा चार जनासम्म बस्न सक्छन् । साहित्यिक कार्यक्रमका लागि ३०० जना जति अट्ने सभा हल पनि छ । पोयुसांपका अध्यक्ष दीपक समीप खाना आफैं बनाएर खानुपर्ने र थप व्यवस्थित बनाउन बाँकी रहेकाले सिर्जनाग्राम सञ्चालनमा आउन नसकेको बताउँछन् ।

“कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल चलिरहेको छ”, उनी भन्छन् ।

प्रतिकृया दिनुहोस