नेपाली पर्वतारोहणकी ज्ञाता हलीको निधन
नेपालमा पवर्तारोहण सम्बन्धी अध्येता एवम् लेखिका एलिजावेथ हलीको आज विहान काठमाडौंमा निधन भएको छ ।
करिब आधा शताब्दीदेखि अधिकांश समय नेपालमै बस्दै आएकी ९५ वर्षीया हलीको काठमाडौंको कपुरधारास्थित सिविक अस्पतालमा १२ माघ विहान निधन भएको अस्पतालले जनाएको छ ।
सन् १९५९ मा अमेरिकाबाट पहिलो पटक नेपाल आउँदा हली फच्र्यून पत्रिकाकी रिपोर्टर थिइन् । त्यसपछि उनले नेपालबाटै समाचार संस्था रोयटर्सका लागि रिपोर्टिङ पनि गरिन् ।
हलीलाई पर्वतारोहणकी विकिपिडिया नै भनिन्थ्यो । स्प्रिङ सिजनमा पूर्वोत्तर आधार शिविरबाट धौलागिरी कसले आरोहण गर्यो ? सन् १९८० मा मकालु आरोहण गर्ने पोलिश–ब्रिटश टोली कती माथिसम्म पुग्यो ? कोरियाली टोलीले साँच्चिकै कञ्जनजंघा आरोहण गरेको हो ? यस्ता कुनै पनि विषयमा सन्देह भयो भने त्यसको सहि जवाफ हली बाटै पाइन्थ्यो । कुनै टोलीले हिमाल आरोहण गरेको पुष्टी गर्ने अन्तिम ‘संस्था’ बनेकी थिइन् हली ।
पर्वतारोहण सम्बन्धी उनका अभिलेख हिमालयन डाटा बेस वेबसाइटमा उपलब्ध छन् । उनले ४० वर्षसम्म नेपालबारे लेखेका सामाग्रीको संकलन ‘नेपाल सिन’ नामक पुस्तक दुई भागमा प्रकाशित छ ।