एमाले भन्छ, ‘वर्तमान सरकार वित्तीय अराजकता निम्त्याइरहेको छ’
नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राज्यकोषको दुरुपयोग गरी मुलुकको अर्थतन्त्रलाई अस्तव्यस्त पार्न उद्यत रहेको आरोप लगाएको छ ।
आज, ११ माघमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले ज्येष्ठ नागरिक भत्ता पाउने उमेर हद घटाएर सरकारले मुलुकलाई आर्थिक बोझ बोकाएको आरोप लगाए । उनले सस्तो लोकप्रियताका लागि भूकम्पपीडितलाई दिने अनुदानमा बिना मामदण्ड, मूल्याङ्कन र समयतालिका अनुदान वृद्धिको निर्णय गरेको बताए ।
“विगतमा सामाजिक सुरक्षाको विषय लागू गर्न खोज्दा कनिका छरेको र ढुकुटी रित्याएको जस्ता लाञ्छना लगाउने नेपाली कांग्रेस नेतृत्वको सरकारको यो कदम ज्येष्ठ नागरिकहरुको सम्मान र सामाजिक सुरक्षाको दायरा बढाउने कुरामा होइन, सस्तो लोकप्रियतका लागि गैरजिम्मेवारपूर्ण ढंगले गरिएको निर्णय हो,” पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।
सरकारले १० माघमा वृद्ध भत्ता पाउने न्यूनतम उमेर ७० बाट ६५ वर्षमा झार्ने तथा भूकम्पपीडितको घर निर्माणका लागि राहत स्वरुप थप १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।
त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा माथिल्लो तहमा नयाँ दरबन्दी सिर्जना गर्ने काम बदनियतपूर्ण ढंगले भएको र निश्चित व्यक्तिहरुको स्वार्थ पूरा गर्न प्रहरी संगठनमा उमेर हद हटाउने गरी अध्यादेश जारी गर्न प्रयास भइरहेको पनि एमालेको आरोप छ ।
विज्ञप्तिमा भनिएको छ, “सरकारको वार्षिक नीति र कार्यक्रम तथा बजेटमा समावेश नगरिएका, कुनै जनप्रतिनिधि निकायबाट स्वीकृत नभएका र राज्यलाई साढे ५ खर्बको दायित्व थपिने गरी अन्धाधुन्ध नयाँ कार्यक्रम थप गर्ने कुराले वर्तमान सरकार वित्तीय अराजकता सिर्जना गर्न उद्यत भएको स्पष्ट देखिन्छ ।”
उसले सरकारलाई अनुचित र अनैतिक गतिविधि तत्काल बन्द गर्न र राष्ट्रलाई दीर्घकालीन हानी पुर्याउने गतिविधि नगर्न सचेत समेत गराएको छ ।
"आफू हारियो भन्दैमा देशै कंगाल पार्ने," ओलीले भने, "शेयर बजारमा गिरावट ल्याउने, बैंश भएकैबेला देखि वृद्ध भत्ता ख्वाएर बस्ने यि सबै अनैतिक काम हुन् ।"