कांग्रेसलाई प्रदेश २ मा मधेश केन्द्रित दल र प्रदेश ३ मा विवेकशीलले सघाउने
राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका छन् ।
प्रदेश नं २ मा कांग्रेस, राजपा नेपाल र संघीय समाजवादीले निर्वाचनमा दुई/दुईजना उम्मेदवार भागबण्डा गरी सोहीअनुसार उम्मेदवारी दिने सहमति गरेका छन् ।
सहमतिअनुसार कांग्रेसले प्रदेश नं २ मा जीतेन्द्रनारायण देव (खुला) र मुक्ताकुमारी यादव (महिला) लाई उम्मेदवारी बनाउने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
त्यस्तै कांग्रेसले प्रदेश नं १ मा रमेशजङ रायमाझी (खुला), सरिता प्रसार्इं (महिला) र विन बिक (दलित) तथा प्रदेश नं ३ मा राधेश्याम अधिकारी (खुला) र धना खतिवडा (महिला) लाई उम्मेदवार बनाएको उनले बताए ।
विवेकशील साझा र नयाँ शक्तिले पनि कांग्रेसलाई सघाउने
प्रदेश नं ३ मा कांग्रेसका उम्मेदवारलाई नयाँ शक्ति पार्टी नेपाल र विवेकशील साझा पार्टीले सघाउने सहमति भएको पार्टी प्रवक्ता शर्माले जानकारी दिए ।
कांग्रेसले अन्य चार प्रदेशमा भने मङ्गलबार नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
निर्वाचन आयोगको तालिका अनुसार माघ १० गते आज उम्मेदवारको मनोनयन पत्र दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ ।