मुलुकका अधिकांश भागमा वर्षा
आज मुलुकका अधिकांश भागमा सामान्य वर्षा भएको छ ।
दिपायल, डडेल्धुरा, धनगढी, नेपालगञ्ज, जुम्ला, दाङ, भैरहवा, सिमरा, काठमाडौं लगायतका स्थानमा हल्का वर्षा भएको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार हिजो राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको पश्चिमी वायुले मध्य हुँदै अहिले पूर्वी भेगसम्म प्रभाव जमाइसकेको छ ।
साँझसम्म यो वायुको प्रभाव कम हुने र बिहीबारदेखि मौसममा सुधार आउने उनको भनाइ छ ।
आज विहान ५:४५ बजे काठमाडौँ उपत्यकाको तापक्रम ८ डिग्री सेल्सियस भएपनि दिउँसो अधिकतम तापक्रम घट्ने भएकाले जाडो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार पश्चिमको वीरेन्द्रनगरबाहेक सबै स्थानमा वर्षा भएको छ । आज काठमाडौँमा दुई मिलीमिटर वर्षा भएको छ । सबैभन्दा बढी डडेल्धुरामा १२ मिलीमिटर वर्षा भएको छ ।
महोत्तरीमा झलमल्ल घाम
देशका अन्य भागमा पानी परिरहँदा महोत्तरी र आसपासका क्षेत्रमा २४ दिनपछि एकाबिहानै झलमल्ल घाम लागेको छ ।
१७ पुसदेखि लगातार बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहिरहने क्रम पछिल्ला दुईरतीन दिनयता मध्याह्नपछि घाम देखिने गरेको भए पनि आज भने एकाबिहानै पारिलो घाम लागेको हो ।
एकाबिहानै पारिलो घाम लागेपछि मानिसहरु घाम ताप्न घरबाहिर निस्केका छन् । नदी, धारा, कुवा र इनार वरिपरि लुगा धुने र नुहाउनेको भीड नै देखिएको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा हुस्सु फाटेर झलमल्ल घाम देखिएपनि मध्य र दक्षिणी क्षेत्रमा भने अझै अँध्यारो राम्ररी हटेको छैन ।
“आकाश त उघ्र्दैछ”, जिल्लाको सुदुर दक्षिण–पूर्वी क्षेत्रको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले टेलिफोनमा भन्नुभयो, “स्याँठ चल्न रोकिएर घामको किरण देखिएकाले अब अँध्यारो फाट्दै जाने आश जागेको छ ।”
जिल्लाका पाका उमेरका वृद्धवृद्धा भने वसन्तपञ्चमी उत्सव मनाई सकिएकाले अब सबैतिर मौसम सफा हुँदै जाने बताउँछन् ।