प्रदेश सभा सदस्यहरुले सपथ ग्रहण गरे
सातै प्रदेशका प्रदेश सभा सदस्यले आज सपथ ग्रहण गरेका छन् ।
संविधान र प्रदेश सभा निर्वाचन ऐन अनुसार निर्वाचित जेष्ठ सदस्यले अन्य सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । ज्येष्ठ सदस्यलाई भने प्रदेश प्रमुखले सपथ ग्रहण गराएका छन् ।
प्रदेश नम्बर ४ का ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई प्रदेश प्रमुख बाबुराम कुँवरले विहान ९ बजे पोखरा, राष्ट्रबैंक चोक नजिकको कार्यालयमा सपथ ग्रहण गराएका थिए ।
संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेश सभामा सभामुख, उपसभामुखको निर्वाचन नभएको अवस्थामा संविधानको धारा १८२ (५) र प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) अनुसार प्रदेश प्रमुखले निर्वाचित ज्येष्ठ सदस्यलााई सपथ ग्रहण गराएका हुन् ।
सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशप्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो ।
आयोगले २४ माघमा तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै शुरु गरेकाले सबै प्रदेशसभा सदस्यको शपथ आजै गराइएको हो ।
प्रदेश नं. ४ मा मनाङबाट निर्वाचित दिपक मनाङ्गे (राजीव गुरुङ) र एमालेबाट निर्वाचित तनहुँका रामबहादुर गुरुङ भने शपथग्रहण कार्यक्रममा अनुपस्थित भए ।
ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा अदालतबाट ५ बर्ष जेल सजाय सुनाइएकाले मनाङ्गे उपस्थित नभएका हुने भने अर्का साँसद तनहुँका रामबहादुर गुरुङ विदेशमा रहेकाले उपस्थित हुन नसकेको बुझिएको छ ।
सपथ ग्रहण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै साँसदहरुले प्रदेशको आर्थिक, सामाजिक विकासमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।
प्रदेश ४ का मुख्यमन्त्रीका दाबेदार पृथ्वीसुब्बा गुरुङले पार्टीले निर्णय गर्न बाँकी रहे पनि प्रदेश संसदीय दलको नेतामा आफू निर्वाचित हुने दाबी गरे ।
अब प्रदेशको मुख्यमन्त्रीको नियुक्ति, मन्त्रिपरिषद गठन, सभामुख र उपसभामुखको नियुक्ति लगायतको कार्यतालिका बनाइने कास्कीका प्रमुख जिल्ला अधिकारी एवं प्रदेश सभा सचिवालयका सदस्य तारानाथ अधिकारीले जानकारी दिए ।
संविधान अनुसार निर्वाचन आयोगले निर्वाचनको नतिजा बुझाएको ३० दिनभित्र प्रदेश सरकार गठन भइसक्नु पर्ने समयसीमा तोकेको छ ।
त्यसैगरी मकवानपुरको हेटौँडामा ३ नं प्रदेशका प्रदेश सभा सदस्यले शपथ ग्रहण गरेका छन् ।
आज बिहान १० बजे ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा ‘ख’ का सदस्य डोरमणि पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ गराएपछि सांसद पौडेलले १०९ सांसदलाई क्षेत्रीय शिक्षा निर्देशनालयको सभाकक्षमा बिहान ११ बजे शपथ ग्रहण गराए ।
हेटौँडामा ३ नं प्रदेशअन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका ११० सांसदले शपथ लिएका हुन् ।
प्रदेश नम्बर २ का १०७ जना सांसदहरुले तीन भाषामा सपथ लिएका छन्।
दुई नम्बर प्रदेशका सांसदले नेपाली, मैथिली र भोजपुरीमा सपथ लिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दीलिपकुमार यादवले जानकारी दिए।
जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा उनीहरुले सपथ लिएका हुन्।
प्रदेश ४ का जेष्ठ प्रदेश साँसद जनकलाल श्रेष्ठलाई सपथ खुवाउँदै प्रदेश प्रमुख बााबुराम कुँवर ।