प्रस्तावित राजदूतको संसदीय सुनुवाइ
व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरुको आज संसदीय सुनुवाइ गरेको छ ।
सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेलको नाम सिफारिस गरी संसदीय सुनवाइका लागि संसद्मा पठाएको थियो ।
प्रस्तावित राजदूतहरुले संसदीय सुनुवाइका क्रममा आफ्नो अवधारणा, कार्ययोजना र सोच प्रस्तुत गरेका थिए ।
भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायले आफूलाई अघिल्लो सरकारले बिना कसुर हटाएको बताए ।
उनले आफूले कुटनीति मर्यादाविपरीतका काम नगरेको भन्दै थपे, "अघिल्लो सरकारले बिनाकसुर फिर्ता बोलायो,फेरि पठाउने निर्णयले न्याय पाएको छु ।"
सांसदहरुले ओली नेतृत्वको सरकारले लगाएका आरोपबारे उपाध्यायसँग प्रष्टिकरण मागेका थिए ।
दुबै प्रस्तावित राजदूतहरुले आफूहरुलाई सिफारिस गरेको मुलुकमा राजदूत भई काम गर्ने अवसर प्राप्त भएको खण्डमा दुई देशबीचको सम्बन्धलाई नेपालको हितमा केन्द्रित रहेर सुदृढ तुल्याउन योगदान दिने विश्वास दिलाएका थिए ।