नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो ६ घण्टा बन्द हुने
१३ माघदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो ६ घण्टा सवारी साधन रोकेर काम गरिने भएको छ ।
रातको समयमा मात्रै सवारी रोकेर सडक विस्तारको काम गर्दा अपेक्षित प्रगति हुन नसकेपछि दिउँसो पनि सवारी रोकेर काम गरिने भएको हो ।
१३ माघदेखि बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गर्ने तयारी भएको छ ।
१८ पुसदेखि कामलाई तीव्रता दिन राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिँदै आएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रातिमा सवारी रोकेर काम गर्दा अपेक्षित प्रगति हुन नसकेपछि दिउँसोमा सवारी रोकेर काम गर्ने तयारी गरिएको बताए ।
नारायणगढ–मुग्लिन खण्डको घुमाउनेमा २०० मिटर, चेपाङडाँडा र १६ किलोमा ३०० मिटर पहाड काट्ने काम बाँकी रहेको छ ।
हालसम्म ७२ प्रतिशत काम सम्पन्न भएको र १४.७ किलोमिटर सडक कालोपत्रे भएको आयोजनाले जनाएको छ । रासस