पोष्ट ग्राजुएट शुरु गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी वर्षदेखि पोष्ट ग्राजुएट (पीजी)को पढाइ शुरु गर्ने भएको छ ।
पोखरास्थित क्षेत्रीय अस्पताललाई आधार बनाएर गत वर्ष स्थापना भएको प्रतिष्ठानले पीजी कक्षा सञ्चालनका लागि पाठ्यक्रमको खाकासमेत तयार पारिसकेको छ ।
अबको पाँच महीनापछि पीजीको पढाइ शुरु हुने तयारी गरिएपनि पाठ्यक्रमलाई अन्तिम रुप दिन भने बाँकी रहेको प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाले जानकारी दिए ।
मेडिकल काउन्सिलले भौतिक पूर्वाधार, बिरामी संख्या लगायतका मापदण्ड हेरेर विद्यार्थीको सिट संख्या तोक्ने डा. थापाले बताए ।
पीजी कक्षा सञ्चालनपश्चात नर्सिङ, पब्लिक हेल्थ, एमबीबीएस तहको पनि सञ्चालनको तयारी थालिने प्रतिष्ठानले जनाएको छ ।
५०० बेड सञ्चालनको अनुमति पाएको क्षेत्रीय अस्पतालमा अहिले ३५० बेडमात्र छन् ।
स्त्रीरोग तथा प्रसूतिका लागि छुट्टै भवन तयार भइरहेकाले उक्त भवन सञ्चालनमा आएपछि ५०० बेडमा नै उपचारको व्यवस्था मिलाउने अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा अहिले सरकारी ३०० जना र आन्तरिक स्रोतबाट ३०० जना कर्मचारी कार्यरत छन् ।
सरकारले चालू आवमा प्रतिष्ठानका लागि ४ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
युवराज श्रेष्ठ, पोखरा