कृष्णप्रसाद अधिकारी हत्या सम्बन्धी मुद्दामा लिखित बहस नोट पेस गर्न अदालतको आदेश
जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या सम्बन्धी मुद्दाको बहसपछि लिखित बहस नोट पेस गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले ११ असोजमा दुवै पक्षका अधिवक्ताबाट लिखित बहसनोट ५ कात्तिक अगावै पेस गर्न आदेश गरेको हो ।
दुवै पक्षले मौखिक रुपमा आ-आफ्ना तर्कहरु प्रस्तुत गरिसकेपछि पनि अदालतले आवश्यक ठानेमा ती तर्कहरु पुष्टि हुने आधार र कारणहरु सहितको लिखित बहस नोट माग गर्न सक्छ । जटिल र गम्भीर प्रकृतिका मुद्दामा लिखित बहस नोट पेस गर्न लगाउने प्रचलन छ ।
नोट पेस भएपछि मुद्दाको अन्तिम सुनुवाइका लागि अर्को पेशी तारिख तोकिने जिल्ला अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालले बताए । यसअघि वादी नेपाल सरकारका तर्फबाट दुई, जाहेरवालाका तर्फबाट सात र प्रतिवादीका तर्फबाट १२ जना अधिवक्ताले बहस गरेका थिए ।
२ असोजमा जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले काठमाडौँको वीर अस्पतालमा उपचाररत कृष्णप्रसादकी आमा गङ्गामाया अधिकारीसँग बकपत्र गरी अदालतमा प्रतिवेदनसहित पेस गरेका थिए ।
सशस्त्र द्वन्द्वका बेला प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमङ्गला आएको बेला माओवादी कार्यकर्ताले कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा २४ जेठ २०६१ मा हत्या गरेका थिए ।
जिल्ला अदालत चितवनले ४ वैशाख २०७१ मा किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटीमा र तीनजनालाई साधारण तारिखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् । जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको छ भने विष्णु तिवारी पनि फरार छन् ।
सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका छविलाल पौडेललाई समेत पक्राउ गरिएको छैन ।
अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र शुभद्रा तिवारीलाई साधारण तारेखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेल (अजीव)लाई प्रतिव्यक्ति २७ हजार रुपैयाँ धरौटी राखेर तारिखमा छोडेको छ ।
त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही २० हजार धरौटी राखी तारिखमा छाडेको छ ।
छोराका हत्यारालाई कार्वाहीको माग गर्दै अनशनरत रहेकै बेला नन्दप्रसाद अधिकारीको मृत्यु भइसकेको छ भने आमा गंगामायाले न्यायका लागि वीर अस्पतालको आइसीयूबाट गुहार लगाइरहेकी छन् ।