सर्वोच्चको आदेशः दीपक मनाङ्गेलाई पाँच वर्ष जेल
सर्वोच्च अदालतले दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय सुनाएको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको छ ।
न्यायाधीशद्वय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जेल सजाय सुनाएको हो ।
मनाङ्गेमाथि ०६१ सालमा चक्रे मिलन लगायतको समूहलाई ज्यान लिने उद्देश्यले तरबार प्रहार गरेको मुद्दा जिल्ला अदालत, पुनरावेदन हुँदै सर्वोच्चसम्म पुगेकाे थियो । सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतको फैसलालाई सदर गरेको हो ।
मनाङेसहित रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामा जोडिएको उक्त मुद्दामा जिल्ला अदालतले कर्तव्य ज्यान नभई कुटपीटको ठहर गरी केहीलाई २ वर्ष कैद सजायको फैसला गरेको थियो ।
जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिलको कार्यालयले आरोपितमाथि कारबाहीको माग गर्दै पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेको थियो । पुनरावेदनले ज्यान मार्ने उद्योग गरेको ठहरसहित मनाङेलाई ५ वर्ष कैद सजायको फैसला सुनायो भने अरुले सफाई पाए।
महान्यायाधिवक्ता कार्यालयले मनाङेको हकमा पुनरावेदन अदालतले गरेको फैसला चित्त बुझाए पनि अन्य चार जनालाई पनि सजाय हुनुपर्ने माग दाबीसहित सर्वोच्च अदालतमा पुनरावेदन दियो। त्यही मुद्दामा सर्वोच्चले पुनरावेदनको फैसलालाई सदर गरेको हो।
दीपक मनाङ्गे मनाङ प्रदेश सभा ‘ख’बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । सपथ नलिंदै उनी ज्यान मुद्दामा दोषि ठहर भएका छन् । नैतिक पतन देखिने फौजदारी अभियोग प्रमाणित भएको व्यक्ति सांसद हुन नपाउने कानूनी व्यवस्था छ।