धादिङ बस दुर्घटनाः मृतकको संख्या १९ पुग्यो, १७ को सनाखत
धादिङको मार्पाक–६ लपाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
सदरमुकाम धादिङवेशीबाट किन्ताङफेदी तर्फ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस ११ असोज विहान करिब सवा एघार बजे दुर्घटना हुँदा १३ पुरुष र ६ महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियारका अनुसार मृत्यु हुनेमा सत्यदेवी गाविसका मेन्दीजुन तामाङ, थिरमायाँ तामाङ, रङ्गसिंह तामाङ, लीलाबहादुर गुरुङ, रौता तामाङ, तीन वर्षीय रावत तामाङ, मार्पाक गाविसका कमला पौडेल, दिलकुमारी अधिकारी, पदमबहादुर थापा, गुम्दी गाविसका रुद्रबहादुर घले, दार्खा गाविसका रामचन्द्र सापकोटा, सेर्तुङ गाविसका लारुप तामाङ, रि गाविसका मानबहादुर तामाङ, चन्द्रमान तामाङ, टेकबहादुर तामाङ, गाडी चालक गोरखाका गङ्गावीर विक र ठेगाना नखुलेका खिया लामा छन् ।
घटनास्थलमा मृत्यु भएकामध्ये एकजना र उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अर्का एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
माथिबाट पहिरो झरेर साँघुरिएको ठाउँबाट बस करिब दुईसय मिटर तल आँखुखोला नजिकै बगरमा पुगेको छ । बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन ।
जिल्ला सदरमुकामतर्फ ल्याइएका घाइते र स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएका घाइतेहरूको सङ्ख्या यकिन गर्न नसकिएको उद्धारमा संलग्न मरिचमान तामाङले बताए ।
दुर्घटनामा घाइते भएका मिलन तामाङ, नोमो लामा, बिकी थापा, धनबहादुर लामा, प्रेम बिके, ईश्वर सुवेदी, मनिङ तामाङ, टेकुमाया घले, मातेन तामाङ र छेले तामाङलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराइएको पहिलो किस्तावापतको रु ५० हजार रकम लिएर घर फर्कँदै गरेका ५० भन्दा बढी यात्रु बोकेको बा ३ ख ३३१८ नम्बरको बस पल्टिएर दुर्घटना भएको जिप्रका धादिङले जनाएको छ । घटनास्थल सदरमुकामदेखि ३५ किलोमिटर टाढा पर्छ ।
सानुबाबु तिमिल्सना, धादिङ