तमलोपा नेता ठाकुरको घरमा चोरी गर्ने पक्राउ
गत २४ भदौमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरको भक्तपुर सानोठिमीस्थित घरमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही, पिडारी घर भई हाल पेप्सीकोला बस्दै आएका रञ्जितप्रसाद गुप्ता र महोत्तरी, मेघनाथ घोरन्ना गाविस घर भई पेप्सीकोलामै बस्दै आएका ‘प्रमानन्द’ भन्ने प्रचण्ड प्रताप सिंहलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो ।
उनीहरु घरमा ठाकुर नभएको मौकमा जबर्जस्ती प्रवेश गरी घरको माथिल्लो तलाको कोठामा रहेको ठाकुरको ब्रिफकेस चोरी गरी फरार भएका थिए ।
चोरीका क्रममा उनीहरुले ठाकुरकी छोरी डा मिनाक्षी ठाकुर झालाई खुकुरी देखाई आक्रमण गर्नुका साथै खुर्सानीको धुलोसमेत फ्याँकेका थिए ।
पक्राउ भएका दुवै जनाले योजनाबद्ध तवरबाट जबर्जस्ती घुसेर चोरी गरेको र आएको रकम बाँडेर खाने योजना बनाएको प्रहरीलाई बयान दिएका छन् ।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी वृत्त, सानोठिमी भक्तपुर पठाइएको महाशाखाले जनाएको छ ।
रासस