समाचारशनिबार, २२ पौष , २०७४

पूर्वका ठूला इतिहासकार इमानसिं चेम्जोङ

हिमालखबर

इमानसिं चेम्जोङ (१ जनवरी १९०४–८ अक्टोबर १९७८) को देनको जति चर्चा गरे पनि कम हुन्छ। 
 
- अर्जुनबाबु माबुहाङ

इमानसिं चेम्जोङ

इमानसिं चेम्जोङ पाँचथरको वसाङ्गुबाट कालेम्पोङको रिङकेबुङ बसाइँ गएका मेघवरसिंह र दावापुहाङ्मा चेम्जोङका सन्तान थिए । उनले कलकत्ताको सेन्टजेभियर कलेजमा बीएसम्म पढेर व्यावसायिक जीवन शुरू गरे, सिक्किमको गेजिङ र गान्टोकमा शिक्षकको रूपमा ।

दुवै ठाउँमा गरी उनले सन् १९४२ देखि १९४६ सम्म पढाएको बुझ्न्छि । सुवेदार बाजबिर थलङ, लालसोर सेन्दाङ, जसहाङ मादेन खेवाहरूको प्रभावले उनी शिक्षकबाट लिम्बू लिपि, भाषा–साहित्य र इतिहासको अध्येता बनेको देखिन्छ । 

चेम्जोङले १९२८–१९७४ को बीचमा लिम्बू जातिका मुन्धुम (सामाजिक इतिहास), इतिहास, भाषा, संस्कृति/संस्कार र दर्शनका दर्जनौं पुस्तक प्रकाशनमा ल्याए ।

१९५२ मा नेपाल आएका उनले १९६१ देखि १९७५ सम्म त्रिभुवन विश्वविद्यालयमा किरात इतिहास तथा संस्कृतिविद्का रूपमा काम गरेका थिए । त्यसको तीन वर्षपछि दार्जीलिङमा उनको देहान्त भयो ।

२०५५ सालमा तत्कालीन श्री ५ को सरकारले चेम्जोङको तस्वीर अंकित हुलाक टिकट प्रकाशनमा ल्यायो भने उनको जीवनी कक्षा १० को नेपाली पुस्तकमा छापियो ।

लाप्चा भाषाका साथै अन्य विभिन्न जातजातिका इतिहासबारे पनि कलम चलाएका चेम्जोङले लिम्बू जातिको इतिहास खोज्न लिम्बूवान, दार्जीलिङ र सिक्किमलाई अध्ययन–अनुसन्धानको क्षेत्र बनाए ।

उनले लिम्बूका नाममा जारी तिब्बती दलाई लामाको स्याहामोहर, सेनकालीन स्याहामोहर, शाहकालीन लालमोहर, सनद, रुक्काहरू संकलन गरेका छन् । पाण्डुलिपि र वंशावली टिपोटको पनि उत्तिकै संकलन गरेका चेम्जोङले त्यतिबेला थुम–थुमका सुब्बाहरूसँग अन्तरक्रिया गरेका थिए ।

चेम्जोङको धार
नेपालमा ब्रिटिश रेजिडेन्ट (राजदूत) रहेका ब्रायन हग्टन हज्शनले १८४० पछि दार्जीलिङ बसेर सिक्किम र नेपालबाट थुप्रै सामग्री संकलन गरेका थिए । अंग्रेजले भारत छोडेपछि ती सामग्रीहरू इण्डिया अफिस लाइब्रेरी (बेलायत) पुगे, जसलाई अहिले ‘हज्शन पाण्डुलिपि’ भनिन्छ ।

१९५५ मा प्रोफेसर आर.के. स्प्रिग ती सामग्रीहरू लिएर नेपाल आएका थिए । सिरिजङ्गा लिपि पढ्न जान्ने मान्छे खोज्दै हिंड्दा स्प्रिगले चेम्जोङलाई इलाममा भेटे । ती सामग्रीमा चेम्जोङले सिरिजङ्गाले लेखेका मुन्धुम र खाहुन (उपदेश) पाए ।

चेम्जोङले त्यहीं पाए, जोभानसिं फागोले लेखेर हज्शनलाई बुझएको गोर्खालीसँग भएको राई (खम्बू), लिम्बू र याख्खाहरूको युद्ध वर्णन र लिम्बूका सामाजिक संस्कारका टिपोट पनि । फागोको टिपोटले चेम्जोङलाई पूर्वको इतिहासको प्रारूप तयार गर्न ठूलो सहयोग गर्‍यो ।

उनको इतिहास लिम्बूवान र विजयपुर राज्यमा बढी केन्द्रित छ । विजयपुरमा लिम्बूहरूको शासन भएको औंल्याएका चेम्जोङले ब्रिटिश इतिहासकार फ्रान्सिस् बुखानन् ह्यामिल्टनले लेखेको (१८१९/१९८६/१९९०) विजयपुरको धुमिल इतिहासलाई स्पष्ट पार्न खोजे ।

ह्यामिल्टनका अनुसार, विजयपुरमा विजयनारान राजा र उनका छोरा सिंग राय खेबाङ चौतरिया थिए । उनीहरू उत्तरतिरका पहाडी भेगबाट आएका थिए ।

चेम्जोङका अनुसार, पन्ध्रौं शताब्दीमा विजयपुरमा साङलाइङको शासन थियो । त्यसपछि पुङलाइङ, अमर राय, कृति नारान, चारै नारान, इङदिन नारायण र विजयनारानले शासन गरे ।

विजयनारानका चौतरिया मुरेहाङ खेबाङ थिए । फेदापे लिम्बूहरूको तुम्बाहाम्फे वंशावली (२०६३) मा वि.सं. १८१४ मा टिपिएको साङलाइङका पुस्ताहरूको टिपोट छ ।

वंशावलीमा फेदापेहरूका पुर्खा वानहाङफुङ विजयपुरको राजकाज थाम्न गएको बेला उनकी श्रीमतीले देवरको सन्तान जन्माइन् । पछि ती सन्तानको अंश सम्बन्धी मुद्दा विजयपुरसम्म पुग्यो ।

यसले विजयपुरमा फेदापे लिम्बूहरूको पहुँच थियो भन्ने देखाउँछ । चेम्जोङले भनेका मुरेहाङ खेबाङ र ह्यामिल्टनका खेबाङ एउटै हुन् भन्ने पुष्टि पनि हुन्छ ।

चेम्जोङले नै गोर्खालीसँगको युद्धको लिम्बू नायक काङसोरेलाई चिनाउने काम गरेका हुन् । उनले अरुण र सभाया खोला तथा चैनपुर र दुम्जाबीचको लडाईंमा काङसोरे मारिएको अनुमान गरेका छन् ।

काङसोरे र रघु रानाको लडाइँबारे ‘हज्शन पाण्डुलिपि’ को खण्ड ८५ मा पाइएका ‘सभाया घाट’, ‘सभाया दोभान’ र ‘सभाया वादो’ जस्ता शब्दहरूले त्यही बुझाउँछ ।

अरुण नदी र सभाया खोलाको दोभान सभाया दोभान वा सभाया घाट हो । सभाया वादो (संगम) चाहिं बाह्रबिसे बजारको लंकुवाखोला, सभाखोला र भोटीखोलाको संगम हो । चेम्जोङले पाण्डुलिपिमा पटक–पटक आउने ‘फागो’ शब्द भने खुट्याएनन् ।

वनेम फागो वंशावली र ‘हज्शन पाण्डुलिपि’ को खण्ड ८५ दाँजेर हेर्दा काङसोरे फागो वनेमका पुर्खा पुष्टि हुन्छ ।

लिम्बू लिपिका सर्जक सिरिजङ्गा ताप्लेजुङको सिनाम नजिकै तेल्लोकका सिं थेबे हुन् भनेर चिनाएको जस पनि चेम्जोङलाई नै जान्छ ।

उनले संकलन गरेका सिरिजङ्गाका उपदेशहरू उल्था गरेर किरात मुन्धुम खाहुन (१९६५/१९८२) छापेका छन् । हज्शन पाण्डुलिपिको खण्ड ८५ मा परेका सिरिजङ्गाका पत्रहरू खुट्याएर उल्था गर्नु चानचुने कुरा थिएन ।

यो किन पनि भने अहिले सिरिजङ्गा लिपिको विकसित रूप पढ्ने/लेख्नेहरूले सिरिजङ्गाले लेखेका पत्रहरू खुट्याउन सकेका छैनन् ।

सिरिजङ्गाको उपदेशले करीब ४०० वर्ष अघिको लिम्बू जातिको व्यवस्था चित्रण गर्छ । चेम्जोङले लेखेजस्तो सिरिजङ्गालाई सरस्वतीले फक्ताङलुङ (कुम्भकर्ण) को फेदमा पुस्तक दिएको कुरा चाहिं पाण्डुलिपिमा छैन ।

चेम्जोङले शरतचन्द्र दासको मत (सन् १८९०) मानेर पहिलो सिरिजङ्गाको तिथिमिति तोकेको अनुमान गर्न सकिन्छ । दासले सिरिजङ्गालाई सातौं शताब्दीका बौद्ध गुरु पद्मसंभवको अवतार भनेका छन् ।

चेम्जोङले पद्मसंभवको अवतारको रूपमा सिरिजङ्गालाई २०० वर्ष पछाडि प्रस्तुत गरेर नवौं शताब्दीका पहिलो सिरिजङ्गा भनेका छन् । ब्रिटिश लेखक एच.एच. रिस्ले (१८९४/१९७२) ले सिरिजङ्गाको समयलाई पृथ्वीनारायण वा प्रतापसिंह शाहको राज्यकाल भनेका छन् ।

चेम्जोङले रिस्लेलाई पनि पछ्याउँदै विक्रमादित्यको शासनकाललाई आधार मानेर दोस्रो सिरिजङ्गा खडा गरेका छन् । चेम्जोङले दोस्रो सिरिजङ्गा अठारौं शताब्दीको पूर्वार्द्ध मा थिए भनेका छन् ।

तर, हज्शन पाण्डुलिपिका मुन्धुम र खाहुनमा सिरिजङ्गाको नाम बाहेक केही उल्लेख छैन । डा. रमेश ढुङ्गेलले पाण्डुलिपिको खण्ड ८८ मा रुपिहाङले जयप्रकाश मल्ललाई पत्र लेखेको भेटिएको र रुपिहाङ नै सिरिजङ्गा भएको तर्क गरेका छन् । तर, पाण्डुलिपिका अरू खण्डमा रुपिहाङको नाम भेटिंदैन ।

त्यस्तै, प्रेमबहादुर माबोहाङ र भुपेन्द्र शर्मा ढुङ्गेलले लिम्बू भाषा, लिपि पढाउने सिरिजङ्गालाई गोर्खालीहरूले वि.सं. १८४५ मा चैनपुरबाट लखेटेको भनेका छन् । घटनाहरूको समयक्रम हेर्दा सिरिजङ्गाको समय अठारौं शताब्दीको हाराहारीमा रहेको देखिन्छ ।

चेम्जोङको लेखनमा रिस्लेको पूरै प्रभाव देखिन्छ । रिस्लेले लिम्बूहरूलाई तिब्बतको सङ प्रान्तबाट आएको भन्दै लासा गोत्रे मानेका छन् । चेम्जोङले किरात मुन्धुम खाहुन (१९६५/१९८२) मा सिरिजङ्गाका लेखनी उल्था गर्ने क्रममा ‘सुसुवा लिलिम याक्थुङबा’ को ‘सुसुवा’ लाई ‘सुचुवाङ’ लेखेका छन् ।

अर्थात्, उनले लिम्बूहरू चीनको सुचुवाङ प्रान्तबाट आएको वा सुचुवाङ ल्हासातिर पर्छ भन्नेमा जोड दिए, जुन एकदमै असहज लाग्छ । हज्शन पाण्डुलिपिमा संकलित सिरिजङ्गाका पत्रैपिच्छेजसो उनले आफूलाई ‘सुसुवा लिलिम याक्थुङहाङ’ को सन्तान भनेका छन् । मुन्धुममा लिम्बूहरूलाई सुसुवा लिलिम याक्थुङबाको सन्तान भनेर पुकारिन्छ ।

चेम्जोङले किरात मुन्धुम खाहुनको ‘याक्थुङसाः से खेप्साम्मेओ’ लाई नेपालीमा उल्था गर्दा ‘किराती लिम्बू वंश सबैले सुन्नु’ भनेर लेखेका छन् । यहाँ उनले ‘याक्थुङबा’ लाई ‘किरात’ भनेको स्पष्टै छ ।

तर, ‘किरात’ लिम्बू जातिको जातीय नाम होइन । उनले दशराजाले आठ राजालाई धनु (लिः) ले हानेर (आबुः) हराएको ठाउँ ‘लिम्बूवान’ भएको अनुमान गरेका छन् । योगी नरहरिनाथले २०२२ सालमा संकलन गरेका गोर्खाली शासकका टिपोट र लालमोहरमा याक्थुङबालाई ‘लिम्बू’ भनिएको छ ।

संशोधनको दरकार
एडेन भान्सिटार्ट (सन् १८९६/१९९२) का टिपोटहरू पनि चेम्जोङले उल्लेख गरेका छन् । उनले सामलुप्लि साँबाहाङ भनेर लेखेका छन् । तमोर खोलाका प्रमुख सामलुप्लि साँबाहाङ लेक्वा साँबा थरका थिए । उनको गढी घुन्साखोला (मुधिङगुम लेक्वा) छेउछाउ थियो ।

थिन्दोलुङ खोयाहाङका गढीको चर्चा गरिएको छ, तर त्यो कहाँ थियो भन्ने स्पष्ट छैन । त्यो गढी पाँचथरको पञ्चमीमा पर्छ । पाण्डुलिपिको खण्ड ८५ पत्र १४३ को युद्ध वर्णनमा पाइएको अम्फा यक (गढी) कालान्तरमा अम्बरपुर र हक्सि यक हस्तपुर नामकरण भएका हुन् ।

ताक्लुङ खेवाहाङको गढी चाम्लिङ–चिम्लिङ लेखिएको छ । त्यो ठाउँ तेह्रथुम ओख्रेको ताक्लुङ हो ।

चेम्जोङले लिम्बू जातिको साम्योकलुङथिम (दुबोढुङ्गो छुवाएर भैयाद बनाउने), सिङचेप्मा याङ (विवाहलाई मान्यता दिने), सेम्मुइ याङ (छोरीलाई वाग्दान) जस्ता परम्परागत व्यवस्थाहरूको चर्चा गरेका छन् ।

इसाई भए पनि उनले लिम्बू जातिको सनातनी परम्परा मान्न जोड दिएका छन् । उनी बाँचुन्जेल लिम्बू जातिको इतिहास, भाषा, संस्कृति र साहित्यको खोज, अनुसन्धानमै लागे । उनले ब्रह्माण्ड उत्पत्ति सम्बन्धी मुन्धुम संकलन र उल्था गरेका छन् ।

तर संस्कारसँग सम्बन्धित मुन्धुमको टिपोटमा पात्रका नाम, स्थान र कथावस्तु काल्पनिक छन् । त्यसकारण, चेम्जोङको इतिहासमा संशोधन जरूरी छ ।

इतिहासकारको रूपमा इमानसिं चेम्जोङले पुर्‍याएको योगदानको पर्याप्त चर्चा हुनैपर्छ, तर एकोहोरो प्रशंसाबाट नभई आलोचनात्मक टिप्पणीबाट उनको महत्व बढी स्थायी हुनेछ । ११५औं स्मृति दिवसको अवसरमा उनीप्रति हार्दिक श्रद्धाञ्जली !

प्रतिकृया दिनुहोस